हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिन्छ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, चिकितसकहरु समेत परिचालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

महामारी नियन्त्रणका लागि प्रयास तीव्र पारिएको भन्दै उहाँले आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गर्नुभयो । उहाँले सरकारको यो निर्णयबाट महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीका अनुसार वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयको अगुवाइमा सकेसम्म रोक फैलिन नपाओस् तत्काल निदान गर्न सकिओस् र तत्काल उपचार गरेर निको पार्न सकिओस् र रोकथाम पूर्णरूपमा गर्न सकिओस् भन्ने कुरामा ध्यान गएको छ ।’

उहाँले हैजा र झाडापखालाका औषधी सरकारले निःशुल्क उपलब्ध गराइरहेको जानकारी पनि गराउनुभयो ।
वीरगञ्जमा अहिलेसम्म हैजा र झाडापखाला संक्रमित हुनेको संख्या ६२४ पुगेको र त्यसमध्ये ४३७ जना निको भएर घर फर्किएको जानकारी प्रधानमन्त्री ओलीले संसदमा गराउनुभयो ।

वीरगञ्जमा पछिल्लो २४ घण्टामा मात्रै ८४ वटा हैजा र झाडापखालाका नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म वीरगञ्जमा हैजा र झाडापखाला लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ५६ बजे