अमेरिकी सेनाले सोमबारदेखि सबै इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेको छ। पाकिस्तानमा भएको लामो शान्ति वार्ता कुनै सहमतिमा नपुगेपछि तेहरानमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालिएको हो।
आइतबार साँझ जारी गरिएको वक्तव्यमा अमेरिकी सेनाको केन्द्रीय कमाण्डले उक्त नाकाबन्दी सोमबारदेखि लागू हुने जनाएको छ। यो नाकाबन्दी इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै प्रकारका समुद्री यातायातमा लागू हुनेछ। यसमा फारसको खाडी र ओमानको खाडी क्षेत्रका जहाजहरू समेत समावेश हुनेछन्।
तर केन्द्रीय कमाण्डले गैर-इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूको लागि स्ट्रेट अफ हर्मुजमा आवागमन स्वतन्त्रता रोक्ने छैन भनी उल्लेख गरेको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सम्पूर्ण स्ट्रेटमा नाकाबन्दी गर्ने चेतावनी दिएका कुराबाट केही हदसम्म पछि हटेको संकेत दिएको छ।
अमेरिकाले नाकाबन्दी घोषणा गरेसँगै अमेरिकी कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको छ भने अन्तर्राष्ट्रिय मानक ब्रेन्ट कच्चा तेलको मूल्य ७ प्रतिशतले बढेर १०२.२९ डलर पुगेको छ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गरेपछि इरानले विश्व ऊर्जा बजारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्यमा प्रभाव जमाएको छ। त्यसयता उक्त जलमार्गमा जहाज आवतजावत निकै घटेको छ, जसले विश्वको करिब पाँचौं भाग तेल र तरल प्राकृतिक ग्यास आपूर्ति लगभग ठप्प बनाएको छ।
इरानले आफ्ना जहाजहरू भने निरन्तर सञ्चालनमा राखेको छ र अन्य देशका केही जहाजहरूलाई सीमित रूपमा आवतजावत गर्न दिएको छ। युद्धपछि सो जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउनेबारे पनि इरानी अधिकारीहरूले छलफल गरेका छन्।
ट्रम्पको नाकाबन्दी चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले यस्तो कदम अमेरिका–इरानबीच लागू रहेको युद्धविराम (अप्रिल २२ सम्म) को उल्लंघन हुने र कुनै पनि सैन्य जहाजलाई “कडा जवाफ दिइने” चेतावनी दिएको छ।
पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्ता असफल भएपछि अमेरिकाले यो नाकाबन्दी घोषणा गरेको देखिन्छ, जसले पुनः द्वन्द्व चर्किने आशंका बढाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सम्झौता हुनै लागेको अवस्थामा अमेरिकी पक्षले “लक्ष्य परिवर्तन” गरेर वार्ता अवरुद्ध गरेको आरोप लगाएका छन्।
तेहरान विश्वविद्यालयकी सह–प्राध्यापक जोहरे खाराजमीले अमेरिका इरानलाई निर्देशन दिने वा कुन जहाजलाई अनुमति दिने भन्ने स्थितिमा नरहेको बताइन्। उनले भनिन्, “यदि यो नाकाबन्दी इस्लामिक गणतन्त्रको सहनशीलता र विश्व बजारको सहनशीलताको प्रतिस्पर्धा बन्ने हो भने कसले हार्छ भन्ने चाँडै स्पष्ट हुनेछ।” साथै उनले इरान दीर्घकालीन युद्धका लागि तयार रहेको दाबी गरिन्।
उनले थपिन्, “प्राविधिक रूपमा अमेरिकाले स्थिति नियन्त्रण गर्न सक्दैन। हलिउड शैलीका रणनीतिहरूले यो युद्धभूमिमा सफलता पाउन सक्दैन।”





प्रतिक्रिया