भारतको राजधानी दिल्लीस्थित मालवीय नगर क्षेत्रको एक भवनमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दिल्ली प्रहरीले यसबारे जानकारी दिएको हो ।
आगलागी भएको भवनमा ‘फ्लोरिश स्टे बी एन्ड बी’ नामको होटल सञ्चालनमा थियो भने भुइँतलामा ‘लेमन ग्रीन’ नामको रेस्टुरेन्ट रहेको थियो ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान ८ः४८ बजे मालवीय नगरस्थित फ्लोरिश स्टे बी एन्ड बीमा आगलागी भएको सूचना प्राप्त भयो । सूचना प्राप्त हुनासाथ स्थानीय प्रहरी टोली तत्काल घटनास्थल पुगेको र उद्धार, निकासी तथा राहत कार्य सुरु गरिएको थियो ।”
दिल्ली प्रहरीले अग्नि नियन्त्रणका लागि दमकलका आठवटा गाडी परिचालन गरिएको र आगो नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी, अग्निनियन्त्रण सेवा तथा अन्य आपतकालीन निकायहरूको समन्वित प्रयासबाट ४० जनाभन्दा बढीलाई सुरक्षित रूपमा बाहिर निकालेर उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ ।
प्रहरीले भनेको छ, “यस दुःखद घटनामा २१ जनाको मृत्यु भएको पुष्टि गर्नुपर्दा अत्यन्त दुःख लागेको छ ।”
उद्धार तथा खोजी अभियान अझै जारी रहेको र प्रभावितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सबै निकाय घटनास्थलमै खटिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ ।
आगलागीमा जलेका घाइतेहरूलाई साकेतस्थित म्याक्स अस्पताल लगिएको थियो । अस्पतालले जारी गरेको वक्तव्यअनुसार अस्पताल ल्याइएका ३९ जना बिरामीमध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो ।
स्थानीय भाजपा विधायक सतीश उपाध्यायले घटनामा २१ जनाको मृत्यु भएको र ४७ जनाको उद्धार गरिएको बताएका छन् ।
आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले भने, “यस आगलागीमा २१ जना जिउँदै जलेका छन्। मृतकको संख्या अझै बढ्न सक्छ। यहाँ विदेशबाट आएका धेरै मानिस थिए । कतिपय आफ्ना आफन्तको उपचारका लागि यहाँ आएका थिए र बाध्यताका कारण यहीँ बसिरहेका थिए। सरकारलाई केही लाज हुनुपर्छ ।”





प्रतिक्रिया