सोमाली रेफ्री आर्टानलाई अमेरिका प्रवेशमा रोक



विश्वकप फुटबलको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली बन्ने तयारीमा रहेका ओमार आर्टानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएकाे छ । अमेरिकाले प्रवेश अनुमति नदिएपछि अधिकारीहरूको सूचीबाट उनलाई हटाइएकाे छ ।

सन् २०२५ का कन्फेडेरेसन अफ अफ्रिकन फुटबल अर्थात् क्याफका वर्षका उत्कृष्ट पुरुष रेफ्री आर्टानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका प्रवेश गर्न रोकिएको थियो । हाल उनी टर्कीमा रहेका छन् ।

अमेरिकी आप्रवासन अधिकारीहरूले आर्टानलाई किन फिर्ता पठाइयो भन्ने कारण खुलाएका छैनन्। तर सोमालिया राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा रहेका देशहरूमध्ये एक हो ।

अमेरिकी अधिकारीहरूसँग कुराकानी गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आर्टानले अब प्रतियोगिता गुमाउने जनाएको छ ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फिफा पुष्टि गर्दछ कि खेल अधिकारी ओमार अब्दुलकादिर आर्टान संयुक्त राज्य अमेरिकामा प्रवेश अस्वीकार गरिएपछि फिफा विश्वकप २०२६ का लागि प्रशिक्षण लिन र खेल सञ्चालन गर्न असमर्थ हुनेछन् ।”

विज्ञप्तिमा थप भनिएको छ, “फिफा आयोजक देशको आप्रवासन प्रक्रिया, भिसा निर्णय वा प्रवेश अनुमतिमा संलग्न हुँदैन। सम्बन्धित अधिकारीहरूले हाल आर्टानको अवस्था परिवर्तन नहुने जानकारी दिएका छन् ।”

“फिफाका अघिल्ला प्रतियोगिताहरूमा जस्तै, कसलाई भिसा दिने र आफ्नो देशमा प्रवेश गर्न दिने भन्ने अन्तिम निर्णय आयोजक सरकारकै हुन्छ,” फिफाले जनाएको छ ।

रेफ्री प्रमुख पियरलुइजी कोलिनाले प्रतियोगिताका ५२ रेफ्री र ८८ सहायक रेफ्रीका लागि मियामीमा प्रशिक्षण केन्द्र स्थापना गरेका छन् । मैदानमा खटिने सबै अधिकारीहरूले प्रशिक्षण, तयारी र सुरक्षाका लागि फ्लोरिडास्थित सो केन्द्रमै बस्नुपर्ने व्यवस्था छ।

त्यसैले आर्टान संयुक्त राज्य अमेरिकाबाहिर बसेर क्यानडा वा मेक्सिकोमा हुने खेल मात्र सञ्चालन गर्ने सम्भावना पनि सम्भव नहुने बताइएको छ।

सोमालियाको युवा तथा खेलकुद मन्त्रालयका एक वरिष्ठ सल्लाहकारले बीबीसीसँग आर्टानलाई प्रवेश नदिएको पुष्टि गर्दै उनी वैध कागजातसहित यात्रा गरिरहेको बताएका छन् ।

नैरोबीस्थित सोमाली दूतावासका एक अधिकारीले बीबीसीलाई भनेअनुसार, अघिल्लो भिसा समस्यापछि उनको यात्रा सहज बनाउन आर्टानलाई कूटनीतिक राहदानी जारी गरिएको थियो ।

रोयटर्सलाई दिएको वक्तव्यमा आर्टानले परिस्थितिका बाबजुद आफू सकारात्मक रहेको र आगामी चुनौतीमा केन्द्रित हुने बताएका छन् ।

उनले भने, “म फिफा र क्याफलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। म आफ्नो रेफ्री स्तरलाई कायम राख्ने वाचा गर्दछु र भविष्यमा केन्द्रित रहनेछु ।”

“म फुटबल परिवारलाई उनीहरूको सन्देशका लागि धन्यवाद दिन चाहन्छु। विश्वकपमा मेरा सहकर्मीहरूलाई सफलताको शुभकामना दिन्छु र भविष्यका प्रतियोगिताहरूमा फेरि उनीहरूसँग जोडिने आशा राख्छु,” उनले भने ।

सोमाली फुटबल महासंघले फिफासँग यस विषयमा तत्काल स्पष्टिकरण मागेको छ ।

बीबीसी वर्ल्ड सर्भिससँग कुरा गर्दै विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका प्रमुख एन्ड्रु जुलियानीले भने, “म त्यससम्बन्धी नकारात्मक सूचनाबारे विस्तृतमा जान सक्दिनँ, तर यो कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनको सही निर्णय थियो र म त्यस निर्णयको समर्थन गर्छु ।”

विश्वकप जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।

सोमाली राष्ट्रिय फुटबल लिगका अधिकारी आर्टान सन् २०१८ मा फिफा रेफ्री बनेका थिए। उनले अफ्रिका कप अफ नेसन्समा पनि खेल सञ्चालन गरिसकेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ४ : ०९ बजे