अमेरिका मूल्यवृद्धि तीन वर्षयताकै उच्च, ट्रम्प भन्‍छन् : “म मुद्रास्फीति मन पराउँछु”



अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफूलाइ मुद्रास्फीति मनपर्नेबताएका छन् । अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च दरमा पुगेको देखिएपछि “म मुद्रास्फीति मन पराउँछु” भन्ने विवादास्पद अभिव्यक्ति दिएका हुन्।

अमेरिकी श्रम तथ्यांक ब्यूरोका अनुसार मे महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले बढेको छ। अप्रिलमा यो दर ३.८ प्रतिशत थियो ।

विश्लेषकहरूका अनुसार अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा तथा इन्धनको मूल्य बढेपछि मुद्रास्फीति चुलिएको हो।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई यो मन पर्यो । तथ्यांक राम्रो छ । वास्तवमा मलाई मुद्रास्फीति मन पर्छ ।” तर पछि उनले आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गरे।

न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले आफूले मुद्रास्फीति बढेकोमा होइन, अपेक्षाभन्दा कम रहेकोमा खुसी व्यक्त गरेको बताएका छन् ।

उनले भने, “युद्ध भइरहे पनि मुद्रास्फीति अनुमानभन्दा कम छ । युद्ध समाप्त भएपछि मूल्यवृद्धि अझ तल झर्नेछ ।”

ट्रम्पले अमेरिकी सेनाले इरानबाट “लाखौं ब्यारेल तेल” नियन्त्रणमा लिएको दाबी गर्दै युद्ध समाप्त भएपछि तेलको मूल्य पुनः घट्ने बताएका छन्।

उनले सन् २०२६ को सुरुआतमा आयोवामा पेट्रोल प्रतिग्यालन १.८५ डलरमा बिक्री भइरहेको देखेको उल्लेख गर्दै निकट भविष्यमा पुनः त्यही स्तरमा फर्किने दाबी गरे ।

तर विश्व बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य अझै पनि युद्धअघिको तुलनामा उल्लेखनीय रूपमा उच्च रहेको छ ।

मे महिनाको तथ्यांक अनुसार अमेरिकामा लगातार तेस्रो महिनादेखि मुद्रास्फीति बढिरहेको छ।

युद्धका कारण पेट्रोलको मूल्य बढेको छभने ग्यास तथा बिजुली महँगिएको छ । यस्तै हवाई टिकटको मूल्य, स्वास्थ्य सेवा खर्च, सञ्चार तथा मनोरञ्जन सेवाहरू पनि महँगा भएका छन् ।

अमेरिकी मोटरिङ संस्था ए ए ए का अनुसार अहिले अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४.१५ डलर पुगेको छ।

ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको फेब्रुअरी २८ मा यो मूल्य २.९८ डलर थियो ।

इरानले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ढुवानी हुने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरेपछि विश्व बजारमा तेल आपूर्तिमा दबाब परेको छ।

यसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढाउन थप योगदान गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ४ : ४८ बजे