अमेरिका–इरान युद्धविराम सम्झौताले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि राजनीतिक रूपमा ठूलो संकट सिर्जना गरेको छ । यो सम्झौताले नेतान्याहुको राजनीतिक जीवनका तीन प्रमुख आधारस्तम्भलाई कमजोर बनाएको छ र उनलाई नयाँ सुरक्षा तथा राजनीतिक द्विविधामा धकेलेको छ ।
आफूलाई वासिङ्टनको राजनीतिक शक्ति केन्द्रसँग प्रत्यक्ष प्रभाव राख्ने नेताको रूपमा प्रस्तुत गर्दै आएका नेतान्याहु कसरी आफ्नो सबैभन्दा महत्वपूर्ण अमेरिकी सहयोगीबाट यति ठूलो रूपमा पाखा लगाइए ? अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबाट सार्वजनिक रूपमा अपमानित हुनुपर्ने अवस्था किन आयो ?
इरानविरुद्धको कठोर नीति नै इजरायलको सुरक्षा रणनीतिको केन्द्र बनाएका नेतान्याहुले युद्धको अन्त्य गर्दा इरानको शासन झन् बलियो अवस्थामा देखिनु उनको लागि अर्को चुनौती बनेको छ ।
त्यसैगरी, इजरायलमा आमनिर्वाचन हुन केही महिनामात्र बाँकी रहँदा अमेरिका र तेहरानले इजरायललाई लेबनानस्थित हिजबुल्लाहमाथि आक्रमण रोक्न दबाब दिएका छन् । यस्तो अवस्थामा “मिस्टर सेक्युरिटी” अर्थात् इजरायलको सुरक्षा सुनिश्चित गर्ने नेताको रूपमा बनाएको नेतान्याहुको पुरानो छवि पनि संकटमा परेको छ ।
नेतान्याहुसामु अहिले सहज विकल्प छैनन् । विपक्षी नेता एर लापिडले सोमबार इजरायली संसद (केनेस्सेट) मा भने, “अब नेतान्याहुसँग दुई विकल्प मात्र बाँकी छन्, या त आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकासँग प्रत्यक्ष र विनाशकारी टकराव, वा इजरायलका हितमाथि सम्झौता गर्दै आत्मसमर्पण ।”
राष्ट्रपति ट्रम्पले आइतबार बेरुतमा आक्रमण गर्ने आदेश दिएपछि नेतान्याहुको निर्णय क्षमतामाथि कडा आलोचना गरेका थिए । ट्रम्पको यही अभिव्यक्तिलाई नेतान्याहुका राजनीतिक प्रतिद्वन्द्वी र सञ्चारमाध्यमहरूले व्यापक रूपमा उठाएका छन्, विशेषगरी अक्टोबरअघि हुनुपर्ने आमनिर्वाचनलाई ध्यानमा राख्दै ।
तर दबाब विपक्षीबाट मात्र होइन, नेतान्याहुको आफ्नै पार्टी लिकुड तथा उनको गठबन्धनका अतिदक्षिणपन्थी मन्त्रीहरूबाट पनि बढिरहेको छ। विशेषगरी इरानले युद्धविरामको दायरामा लेबनान मोर्चालाई समेत समावेश गर्नुपर्ने माग गरेपछि यो असन्तुष्टि झन् चर्किएको छ।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेनजिभिरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “ट्रम्पको सम्झौताले हामीलाई बाँध्दैन। हाम्रो सुरक्षाको सुनिश्चितता नगर्ने यस्तो सम्झौताका हामी साझेदार होइनौं ।”
लिकुडका सांसद एरियल काल्नेर ले पनि इजरायलले आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्न नछोड्ने बताए । “हामीले जे आवश्यक हुन्छ, त्यही गर्छौं। र हाम्रा मित्र राष्ट्रहरूले हाम्रो अवस्थालाई बुझ्ने अपेक्षा गर्छौं,” उनले भने ।
पूर्व मोसाद अधिकारी तथा इरान मामिलाकी विशेषज्ञ सिमा शाइनले अमेरिकी निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, “अमेरिकाले किन यस्तो स्वीकार गर्यो भन्ने बुझ्न कठिन छ । यसले इरानलाई लेबनानमा प्रभाव कायम राख्न र हिजबुल्लाहलाई त्यहाँको प्रमुख राजनीतिक शक्ति बनाइराख्न अवसर दिन्छ ।”
उनका अनुसार इजरायलको सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्व दुवै यो अवस्थाबाट सन्तुष्ट छैनन् ।
यता आलोचना र दबाबबीच सोमबार राति जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले आफू असफल भएको आरोप अस्वीकार गरे । उनले भने, “मैले आफ्नो अधिकांश वयस्क जीवन एउटा मात्र लक्ष्यका लागि समर्पित गरेको छु, इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्न ।”
यो युद्धविराम सम्झौतापछि इजरायलको आन्तरिक राजनीतिमा ठूलो बहस सुरु भएको छ । विश्लेषकहरूका अनुसार नेतान्याहुले आगामी चुनावअघि आफ्नो सुरक्षा नेतृत्वको छवि जोगाउन, अमेरिकासँगको सम्बन्ध कायम राख्न र इरान तथा हिजबुल्लाहविरुद्धको रणनीति पुनः परिभाषित गर्नुपर्ने कठिन चुनौती सामना गरिरहेका छन् ।




प्रतिक्रिया