मनसुन सक्रिय भएसँगै सम्भावित बाढी, पहिरो, डुबान र सुख्खाजन्य विपद्लाई लक्षित गर्दै सरकारले पूर्वतयारीलाई तीव्र बनाउन सबै निकायलाई निर्देशन दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बृहत् अन्तरक्रियामा गृहमन्त्री सुधन गुरुङले उच्च जोखिम क्षेत्रको समयमै पहिचान गरी आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधन तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
उनले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणालीलाई सबैभन्दा प्रभावकारी हतियारका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै सम्भावित जोखिमबारेको सूचना सकेसम्म छिटो सर्वसाधारणसम्म पुर्याउन निर्देशन दिए। विपद् घट्नासाथ उद्धार, राहत र प्रतिकार्यमा तत्काल परिचालन हुन सक्ने गरी समन्वय संयन्त्रलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रणालीलाई अझ व्यवस्थित र विश्वसनीय बनाउन, सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार तथा मानवीय सहायता संस्थाबीचको समन्वय प्रभावकारी बनाउन पनि निर्देशन दिए । उनले अस्थायी आश्रयस्थल व्यवस्थापन तथा राहत वितरणका क्रममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समूहलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउनुपर्नेमा विशेष जोड दिए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, ११ वटा विषयगत क्षेत्रका सरकारी नेतृत्वकर्ता, संयुक्त राष्ट्रसंघीय निकाय, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा विषयगत क्षेत्रका प्रतिनिधिहरूले मनसुन अवधिलाई लक्षित गरी भइरहेका पूर्वतयारी, उद्धार सामग्रीको व्यवस्थापन, जोखिम क्षेत्रको पहिचान, राहत वितरण, स्वास्थ्य सेवा, खानेपानी, आश्रय व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य योजनाबारे जानकारी गराएका थिए ।
यस वर्षको मनसुनमा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने पूर्वानुमान सार्वजनिक भइरहेका बेला सरकारले पूर्वतयारीलाई प्राथमिकतामा राख्दै सम्बन्धित सबै निकायलाई समन्वित रूपमा परिचालन हुन निर्देशन दिएको छ ।





प्रतिक्रिया