अमेरिका र इरानबीच हुने तय भएको प्रत्यक्ष प्राविधिक वार्ता स्थगित भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि वार्ता पनि अनिश्चित बनेको हो ।
ह्वाइट हाउसले बिहीबार राति जारी गरेको वक्तव्यमा भान्स वार्तामा सहभागी हुन स्विट्जरल्यान्ड नजाने जानकारी दिँदै वार्ताको व्यवस्थापन “सहज वा पूर्वानुमानयोग्य नरहेको” जनाएको छ । वार्ताको मिति र कार्यक्रम अन्तिम रूप नपुगेको पनि ह्वाइट हाउसले स्पष्ट पारेको छ ।
यो घटनाक्रम अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि भएको हो । उक्त सम्झौतापछि अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको थियो ।
सम्झौताले लेबनानमा पनि युद्धविराम लागू हुने उल्लेख गरे पनि इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार रातभर भएको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । नाबाटिएह जिल्लामा भएका ती आक्रमणलाई राज्य सञ्चालित समाचार एजेन्सीले युद्धकै सबैभन्दा तीव्र आक्रमणमध्ये एक भनेको छ ।
इजरायली सेनाले भने इरान समर्थित हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधार र व्यक्तिलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको छ। साथै, आफ्ना चार सैनिक पनि मारिएको दाबी गरेको छ ।
स्विट्जरल्यान्डको बुर्गेनस्टक रिसोर्टमा हुने तय भएको वार्तामा अमेरिका र इरानबीच हालै भएको १४ बुँदे सम्झौताको कार्यान्वयन तथा इरानको आणविक कार्यक्रमलगायत दीर्घकालीन विषयमा छलफल हुने अपेक्षा गरिएको थियो। स्विस विदेश मन्त्रालयले पनि वार्ता स्थगित भएको पुष्टि गर्दै तयारी भने जारी रहेको जनाएको छ ।
सम्झौतामा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने प्रतिबद्धता, इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको योजना तथा अमेरिकाले इरानमाथिका सबै प्रकारका प्रतिबन्ध हटाउने व्यवस्था समेटिएको छ । दुवै पक्षले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्य पनि राखेका छन्, आवश्यक परे आपसी सहमतिमा समय थप गर्न सकिनेछ ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले सम्झौतालाई स्वीकृति दिएको पुष्टि गर्दै यस विषयमा आफ्नो फरक धारणा रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “हतास भएर सबै प्रकारका दबाब प्रयोग गरेका” कारण सम्झौता भएको टिप्पणी गरेका छन् । उनले भविष्यमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता हुने भए पनि त्यसलाई “शत्रुपक्षको अडान स्वीकार गरेको” रूपमा नबुझ्न आग्रह गरेका छन् ।
यता, हिजबुल्लाह निकट लेबनानी सञ्चारमाध्यमले इजरायली आक्रमण निरन्तर भइरहेकाले वार्ता स्थगित भएको दाबी गरेका छन् । इरानले सुरुदेखि नै लेबनानलाई पनि युद्धविराममा समावेश गर्नुपर्ने अडान राख्दै आएको छ भने इजरायलले हिजबुल्लाहविरुद्धको आफ्नो अभियान इरानसँगको युद्धभन्दा अलग विषय भएको बताउँदै आएको छ । हिजबुल्लाहले पनि अमेरिका–इरानबीच भएको सम्झौताका सर्तहरू अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत लेबनानसहित “सबै मोर्चामा” युद्धविराम लागू हुने अपेक्षा व्यक्त गरेका छन् । सम्झौतामा लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रतिबद्धता पनि उल्लेख गरिएको छ ।




प्रतिक्रिया