अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आगामी साता इरानका पुल र विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले “अर्को साता इरानका लागि स्थिति निकै खराब हुने” बताएका हुन् ।
उनले भने, “हामी उनीहरूको सबै विद्युत् केन्द्रहरू ध्वस्त पार्नेछौँ । वार्तामा नआए सबै पुलहरू पनि निशाना बनाउनेछौँ ।” उनकाे यो अभिव्यक्ति अमेरिका र इरानबीच लगातार चौथो दिन पनि आक्रमण–प्रत्याक्रमण जारी रहँदा आएको हो ।
यसअघि ट्रम्पले हर्मुज जलडमरूमध्य हुँदै जाने सबै मालवाहक जहाजमा २०% शुल्क लगाउने धम्की दिएका थिए । पछि उनले त्यो योजना फिर्ता लिए पनि इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः सुरु गरेका छन् ।
समुद्री ढुवानी तथ्यांकअनुसार हर्मुजबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ । अमेरिका र इरानबीच पुनः सुरु भएको आक्रमणपछि तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ ।
ट्रम्पले अप्रिलमै इरानको नागरिक पूर्वाधार, विशेषगरी पुल र विद्युत् केन्द्रमा आक्रमण गर्न सकिने संकेत दिएका थिए । त्यसबेला संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले प्रतिक्रिया दिँदै भनेका थिए, “अन्तर्राष्ट्रिय कानुनअनुसार जानाजान नागरिक र नागरिक पूर्वाधारमाथि आक्रमण गर्नु युद्ध अपराध हो ।”
१९४९ को जेनेभा महासन्धिले नागरिकका लागि अत्यावश्यक मानिने संरचनामाथि आक्रमण गर्न निषेध गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानले व्यापारिक जहाजमाथि आक्रमण गर्न प्रयोग गरेका क्षमताहरू कमजोर पार्न थप हवाई आक्रमण सुरु गरेको जनाएको छ । अमेरिकी एडमिरल ब्राड कूपरका अनुसार इरानले सातवटा व्यापारिक जहाजलाई लक्षित गरेको थियो, जसमा केही नागरिक चालकदल सदस्य मारिएका, घाइते भएका वा बेपत्ता भएका छन् ।
संयुक्त अरब इमिरेट्सले दुईवटा राष्ट्रिय ट्यांकरमा इरानी क्रुज मिसाइल प्रहार भएको दाबी गरेको छ, जसमा एक भारतीय चालकदल सदस्यको मृत्यु भएको र आठ जना घाइते भएको बताइएको छ ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने ती ट्यांकरहरूले चेतावनी बेवास्ता गरेको, नेभिगेसन प्रणाली बन्द गरेको र बारुद बिछ्याइएको मार्ग प्रयोग गर्न खोजेको दाबी गरेको छ ।
बुधबार बिहान कुवेतले इरानी ड्रोन खसालिरहेको जनाएको छ भने बहराइनले हवाई आक्रमणको साइरन बजाएको छ ।
तेहरानले यसअघि बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य केन्द्रहरूलाई पनि निशाना बनाएको दाबी गरेको छ ।
हर्मुज जलडमरूमध्य विश्व तेल आपूर्तिको मुख्य मार्ग मानिन्छ। इरानले यसको व्यवस्थापनमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ । तर यो मार्ग नियन्त्रणमा राख्दा इरानले विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्ने भएकाले यसको महत्व अझ बढी छ ।
ट्रम्पले सोमबार अमेरिका अब हर्मुजको “संरक्षक” भएको दाबी गर्दै शुल्क लगाउने घोषणा गरेका थिए । तर पछि गल्फ देशका नेताहरूको आग्रहपछि शुल्क हटाएर व्यापार र लगानी सम्झौतामार्फत प्रतिफल लिने बताएका छन् ।
“गल्फ देशहरूले अमेरिकामा गर्ने लगानी विशाल हुनेछ र उनीहरूका लागि पनि लाभदायक हुनेछ,” ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी नाकाबन्दी निर्णयले पहिलेको युद्धविराम समझदारीलाई कमजोर बनाएको बताएका छन् । उनले भने:
“यदि अमेरिकाले सैन्य कारबाही र आर्थिक नाकाबन्दी कडा बनाएर हामीलाई वार्तामा फर्काउन सकिन्छ भन्ने ठानेको छ भने त्यो गलत सोच हो ।”
यसरी अमेरिका–इरान तनाव केवल सैन्य क्षेत्रमा सीमित नरही ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय कानुन र विश्व व्यापारका लागि समेत गम्भीर चुनौती बन्दै गएको देखिन्छ ।





प्रतिक्रिया