अमेरिकी सेनाले इरानको सैन्य क्षमता कमजोर बनाउन भन्दै लगातार १०औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार यी आक्रमणहरू इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई निशाना बनाउन सक्ने क्षमतामा थप क्षति पुर्याउने उद्देश्यले गरिएको हो ।
यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने चेतावनी दिएपछि भएका हुन् । ट्रम्पले अघिल्लो रात इरानमाथि भएको आक्रमणमा “इरानलाई निकै कडा प्रहार गरिएको” बताएका थिए ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणमा इरानका सैन्य कमाण्ड सेन्टर, समुद्री सैन्य क्षमता, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल र हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरिएको थियो ।
आक्रमणपछि इरानको उत्तरपश्चिमी शहर तब्रिज नजिक विस्फोट भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । साथै बन्दर महशहर, बन्दर इमाम खोमेनी, चाबहार र कोनारक बन्दरगाह आसपास पनि विस्फोट भएको जनाइएको छ ।
यता इरानले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिरहेका दुईवटा तेल ट्यांकरमा आक्रमण गरेको दाबी गरेको छ । सरकारी समाचार संस्था इरनाका अनुसार ती जहाजहरू हर्मुजकाे “असुरक्षित दक्षिणी मार्ग” प्रयोग गरिरहेका थिए र उद्धार टोलीले चालकदललाई सुरक्षित स्थानमा पुर्याइरहेको छ ।
यद्यपि अमेरिकी सेनाले भने होर्मुजबाट व्यापारिक जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ ।
बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सले पनि होर्मुज जलडमरूमध्यमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्रबाट प्रभावित भएको र चालकदलले जहाज छोडेर लाइफबोटमा शरण लिनुपरेको जानकारी दिएको छ । उक्त जहाज इरानले दाबी गरेको दुई ट्यांकरमध्ये एक हो वा होइन भन्ने स्पष्ट भएको छैन ।
इरानका राष्ट्रपति मसुद पेजेशकियनले देश अहिले अमेरिकासँग “पूर्ण स्तरको युद्ध” लडिरहेको बताएका छन् ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले बहराइनस्थित अमेरिकी कम्पनी अमेजनको डाटा सेन्टरमा क्रुज मिसाइलमार्फत आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ। यो दाबी पनि सरकारी समाचार संस्था इरनाले सार्वजनिक गरेको हो ।
इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई पनि निशाना बनाएको जनाएको छ । जोर्डनले पाँचवटा ड्रोन अवरोध गरी खसालेको पुष्टि गरेको छ भने बहराइनले इरानले हवाई नेभिगेसन प्रणालीलाई लक्षित गरी ड्रोन प्रहार गरेको बताए पनि हवाई यातायात प्रभावित नभएको जनाएको छ । कुवेतले पनि आफ्ना सुरक्षाबलले इरानी ड्रोनहरू खसालेको जनाएको छ ।
तनाव चुलिँदै गए पनि दुवै पक्षबीच मध्यस्थकर्तामार्फत कूटनीतिक सन्देश आदानप्रदान भइरहेको तेहरानले जनाएको छ ।
यसअघि जोर्डनस्थित मुवाफ्फाक साल्ती सैन्य अड्डामा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको पहिचान अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । उनीहरू टेक्सासकी १९ वर्षीया प्राइभेट इसाबेला गोन्जालेस र हवाईका २५ वर्षीय लेफ्टिनेन्ट टायलर जेम्स फिहान हुन् । सेन्टकमका अनुसार आक्रमणपछि हराइरहेका अर्का एक सैनिकको अवशेष पनि घटनास्थल नजिकै फेला परेको छ ।





प्रतिक्रिया