सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता बोलाइए



सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूलाई फिर्ता बोलाउँदै नयाँ जिम्मेवारी तोकेको हो ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको सीडीओको जिम्मेवारी दिइएको छ ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।

सशस्त्र प्रहरी बलतर्फ पनि नेतृत्व परिवर्तन गरिएको छ । सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालयमा फिर्ता बोलाएर एसपी लवकुमार सापकोटालाई सुनसरी खटाइएको छ । त्यस्तै कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ भने उनको स्थानमा प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई जिम्मेवारी दिइएको छ ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा एक जनाको मृत्यु भएको थियो । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

यसैबीच, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । सरकारले घटनापछि सुरक्षा अवस्था सामान्य बनाउन प्रशासनिक तथा सुरक्षा संयन्त्रलाई पुनर्गठन गर्दै थप सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : ५९ बजे