निम्स दाईसहित चार आरोहीको शव आधार शिविर ल्याइयो



पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीमध्ये विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित चार आरोहीको शव आधार शिविरमा ल्याइएको छ ।

प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाका अनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार टोलीले संकलन गरी आधार शिविरमा ल्याएको हो । शव संकलनको नेतृत्व अनुभवी आरोही मिङ्मा जीले गरेका थिए ।

सांसद शेर्पाले प्रतिकूल मौसम र जटिल भूगोलका बीच जोखिम मोलेर उद्धार कार्य सम्पन्न गर्ने टोलीप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार हिमपहिरोमा ज्यान गुमाएका अन्य तीन आरोहीको शव भने अझै फेला पर्न सकेको छैन ।

गत शुक्रबार ब्रोड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी कुल १० जना आरोहीको मृत्यु भएको थियो । बाँकी शवको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ५ : २३ बजे