हलिउड सुपरहिरो फिल्म ‘स्पाइडर–म्यान : ब्रान्ड न्यू डे’ ले नेपाली बक्सअफिसमा उत्कृष्ट व्यापार जारी राखेको छ । प्रदर्शनको नवौं दिन शुक्रबार दिउँसोसम्म आइपुग्दा फिल्मले नेपालभरबाट ११ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गर्न सफल भएको छ ।
गत ३० जुलाई (१४ साउन) देखि प्रदर्शनमा आएको टम हल्यान्ड अभिनित यो फिल्मले प्रदर्शनको पहिलो सातामै १० करोड क्लब मा प्रवेश गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो । बलियो दर्शक उपस्थिति र अग्रिम टिकट बिक्रीका कारण फिल्मको कमाइ निरन्तर उकालो लागिरहेको छ ।
हालसम्मको व्यापारसँगै ‘स्पाइडर–म्यान : ब्रान्ड न्यू डे’ नेपाली बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्महरूको सूचीमा दशौं स्थान मा पुगेको छ । यसले यसअघि रहेको ‘धुरन्धर’ को १० करोड ५२ लाख रुपैयाँ ग्रस कमाइलाई पछि पारिसकेको छ ।
बक्सअफिस विश्लेषकहरूका अनुसार यही गति कायम रहे फिल्मले छिट्टै नवौं स्थानमा रहेको ‘कान्तारा’ को १२ करोड ३५ लाख रुपैयाँ ग्रस कमाइको कीर्तिमान पनि उछिन्ने सम्भावना छ । यस सप्ताहन्तमा प्रतिस्पर्धाका लागि कुनै ठूला नयाँ फिल्म प्रदर्शनमा नआएकाले पनि ‘स्पाइडर–म्यान : ब्रान्ड न्यू डे’ को बक्सअफिस वर्चस्व अझै केही दिन कायम रहने अनुमान गरिएको छ ।
विश्वव्यापी रूपमा समेत फिल्मले रेकर्डतोड व्यापार गरिरहेको छ र प्रदर्शनको दोस्रो सातामै एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै सन् २०२६ का सर्वाधिक सफल फिल्महरूमध्ये एक बनेको छ ।





प्रतिक्रिया