शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी



सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

मंगलबार विशेष अदालतमा बयान तथा थुनछेक बहस सकिएपछि अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।

बयानका लागि मंगलबार अदालतमा उपस्थित भएका गोल्छा धरौटी बुझाएर तारिखमा बस्ने तयारीमा छन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

यस मुद्दामा गोल्छासहित दीपक भट्ट, शुलभ अग्रवाललगायत ३४ जना व्यक्ति र पाँचवटा कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

गोल्छासँग यसअघि पनि काठमाडौं जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । गत १२ साउनमा जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा र शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ५ : ४२ बजे