सिरियाको अदालतले युद्ध अपराध र मानवताविरुद्ध अपराध गरेको ठहर गर्दै अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असदलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०११ देखि सुरु भएको सिरियाली गृहयुद्धका क्रममा भएका अपराधमा असद दोषी ठहर भएको यो पहिलो पटक हो । सन् २०२४ को डिसेम्बरमा उनको शासन पतन भएपछि असद परिवारसहित सिरियाबाट भागेर मस्को पुगेका थिए ।
असदका काका तथा दक्षिणी सिरियाको दरा प्रान्तका राजनीतिक सुरक्षा प्रमुख रहिसकेका अतिफ नजिबलाई पनि अदालतले मृत्युदण्ड सुनाएको छ । मंगलबार फैसला सुनाउँदा नजिब अदालतमा उपस्थित थिए र उनलाई पिँजडाभित्र राखिएको थियो ।
सन् २०११ मा दरामा सरकारविरोधी भित्ते लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएको घटनापछि असद शासनविरुद्ध प्रदर्शन सुरु भएको थियो । सुरक्षाकर्मीले प्रदर्शनमाथि गरेको हिंसात्मक दमनपछि आन्दोलन देशभर फैलिँदै गृहयुद्धमा परिणत भएको थियो। उक्त युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो ।
अदालतले नजिबलाई हत्या, १५ वर्षमुनिका बालबालिकाको जानाजानी हत्या तथा मृत्यु हुने गरी यातना दिएको लगायतका अपराधमा दोषी ठहर गरेको छ ।
अदालतले असदका भाइ माहेर अल–असदसहित पूर्वसैनिक तथा सुरक्षा अधिकारी थप छ जनालाई पनि अनुपस्थितिमै मृत्युदण्ड सुनाएको छ । माहेरले सिरियाली सेनाको शक्तिशाली चौथो डिभिजनको नेतृत्व गरेका थिए । पूर्वरक्षामन्त्री फहद अल–फ्रेज पनि मृत्युदण्ड सुनाइएका व्यक्तिमध्ये छन् ।
सिरियाको अन्तरिम सरकारले असद शासनसँग सम्बन्धित पूर्वअधिकारीमाथि यस वर्षदेखि मुद्दा चलाउन थालेको हो । नयाँ सरकारले धेरै पूर्वअधिकारी तथा सुरक्षा निकायका कर्मचारीलाई नियन्त्रणमा लिए पनि असदसहित पुरानो शासनका अधिकांश उच्च तहका व्यक्ति अझै रुसमा रहेका छन् ।
असद र उनका भाइ माहेरलाई मस्कोबाट सिरिया ल्याउन नयाँ सरकार सफल हुन्छ कि हुँदैन भन्ने भने स्पष्ट छैन । यसअघि पनि सिरियाली अधिकारीहरूले असदविरुद्ध हत्या र यातनाको आरोपमा पक्राउ पुर्जी जारी गरेका थिए ।
असद सन् २००० मा आफ्ना पिता हाफेज अल–असदको निधनपछि सत्तामा आएका थिए । उनको शासनकालको ठूलो हिस्सा गृहयुद्धमा बितेको थियो । सन् २०२४ मा अहमद अल–शराअ नेतृत्वको विद्रोही समूहले ११ दिन लामो अभियानपछि सत्ता कब्जा गरेपछि असद शासनको अन्त्य भएको थियो ।





प्रतिक्रिया