कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभा बैठकमा लगातार १० भन्दा बढी पटक बिना सूचना अनुपस्थित रहेको आधारमा प्रदेशसभा सचिवालयले तयार पारेको पद रिक्तसम्बन्धी प्रस्ताव सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि उनको सांसद पद रिक्त भएको हो। यसबारे सभामुखले आगामी बैठकमा औपचारिक जानकारी गराउनेछन्।
देउवा गत वर्ष भदौमा अमेरिका गएपछि उतै बस्दै आएका छन्। स्वास्थ्य समस्या देखिएपछि उपचारमा रहेको जानकारी उनले प्रदेशसभा सचिवालयलाई गराएका थिए। स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्किएर संसदीय भूमिकामा सक्रिय हुने बताएका भए पनि करिब ११ महिना बितिसक्दा पनि उनी फर्किएका छैनन्।
प्रदेशसभा सचिवालयका अनुसार पछिल्ला २७ बैठकमा देउवाको उपस्थिति छैन। संविधानको धारा १८०९घ० अनुसार सभालाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही प्रावधानअनुसार उनको पद रिक्त गरिएको हो।
अमेरिकामा रहेकै अवस्थामा पनि देउवाले प्रदेशसभा सदस्यका रूपमा सेवा–सुविधा लिँदै आएका थिए। सचिवालयका अनुसार पछिल्लो ११ महिनामा उनको खातामा ७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ।
मासिक पारिश्रमिक, धारा–बिजुली, सञ्चार र अतिथि सत्कारलगायत शीर्षकमा नियमित रकम पठाइएको थियो। यसबाहेक निजी आवास मर्मतका लागि समेत थप रकम उपलब्ध गराइएको सचिवालयले जनाएको छ।
देउवा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्। उनी कैलाली क्षेत्र नम्बर ५९२० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। लामो समयदेखि आफ्नो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सम्पर्कमा नरहेको भन्दै स्थानीय मतदाताले समेत असन्तुष्टि जनाउँदै आएका थिए।





प्रतिक्रिया