संसद्मा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ, ७८ दिनदेखि जारी विपक्षीकाे विराेध राेकियाे



प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गर्दै आएको लामो समयदेखिको विरोध सोमबारबाट रोकिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि विपक्षी सांसदहरूले विरोधको कार्यक्रम स्थगित गरेका हुन् ।

सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू विगतका बैठकझैँ आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा सांसदहरूले लामो समयदेखि उठाउँदै आएको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६ देखि ६० सम्मको व्यवस्था बमोजिम बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ गरे ।

सभामुखको रुलिङपछि विपक्षी सांसदहरू केही समय अलमलमा परे पनि अन्ततः आसन ग्रहण गरे । यससँगै ७८ दिनदेखि जारी उनीहरूको विरोध अन्त्य भएको हो ।

विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री शाहले भारतसँगको सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण माग गर्दै निरन्तर विरोध गर्दै आएका थिए । प्रधानमन्त्रीले भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत सीमा विवादबारे छलफल गरिएको र नेपालले पनि विभिन्न स्थानमा भारतीय भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए ।

उक्त अभिव्यक्तिको तथ्य र आधारबारे प्रधानमन्त्रीले संसद्मा स्पष्टीकरण दिनुपर्ने तथा विवादित भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग थियो । उनीहरूले सोही विषयसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको विषय पनि लगातार उठाउँदै आएका थिए ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । तर प्रधानमन्त्री शाह निर्वाचित भएयता नियमावलीअनुसार नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका छैनन् ।

सभामुख अर्यालले यसबीच प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन आग्रह गर्दै पटक–पटक भेटसमेत गरेका थिए । सभामुखका अनुसार प्रधानमन्त्रीले ‘उपयुक्त समयमा आउने’ बताउँदै आएका थिए । प्रधानमन्त्री संसद्मा उपस्थित हुने मिति निश्चित नभएपछि नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रमको मिति समेत तय हुन सकेको छैन ।

सभामुखको रुलिङपछि विपक्षी दलहरूले तत्कालका लागि विरोध रोक्ने निर्णय गरेका छन् । बैठकमा प्रमुख विपक्षी दलका केही शीर्ष नेता भने चीन भ्रमणमा रहेकाले उपस्थित थिएनन् ।

सभामुखले रुलिङ गर्दा प्रधानमन्त्री शाह भने बैठकमा उपस्थित थिएनन् । प्रधानमन्त्री शाह हालसम्म प्रतिनिधिसभाका सीमित बैठकमा मात्र सहभागी भएको बताइएको छ ।

यसरी लामो समयदेखि जारी विपक्षीको विरोध रोकिए पनि प्रधानमन्त्रीले सभामुखको रुलिङअनुसार संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ कहिले दिने भन्ने विषय भने अझै टुंगिएको छैन ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : २७ बजे