उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताउनुभएको छ ।
उहाँले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गर्नुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उहाँले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भन्नुभएको थियो । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताउनुभयो ।
अहिले सरकारको देश र समाजप्रतिको कार्यभार सामाजिक र आर्थिक रुपान्तरण गर्नुभएको उहाँले बताउनुभयो । छ दशकभन्दा बढी समय विभिन्न किसिमका सङ्घर्षको क्रममा हजारौँ शहीदले बलिदानी दिएको र बेपत्ता योद्धाको समर्पण रहेको उहाँले उल्लेख गर्नुभयो । लाखौँ जनताको सङ्र्षपछि राजनीति परिवर्तन भएकाले अब नागरिकले महसुस गर्ने गरी विकास गर्न लागिने उहाँले बताउनुभयो । आर्थिक विकास नयाँ ढङ्गबाट हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । जहाँ विकास भएको छ त्यहाँ विकास नै विकास हुने र केही सीमित ठाउँमा मात्रै विकास केन्द्रित गर्नेभन्दा सबै भागमा विकास पुग्ने गरी लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विपन्न वर्ग पनि लाभन्वित हुने गरी विकासका कार्यक्रम बनाउन आवश्यक छ र वातावरणलाई विकासको अङ्ग बनाएर अघि बढ्नुपर्छ ।”
राजनीतिक परिवर्तन पछाडि पनि समाजको आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकासको फड्को मार्न नसकिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । यो अवधिमा धेरैथोरै काम गरिए पनि नागरिकलाई सन्तुष्ट बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनका कारण मेरो जीवन फेरियो भनी जनताले महसुस गर्ने गरी गर्नुपर्छ ।” भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । नेपालमा विद्युत्, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । विकासको सकारात्मक कुरा स्थापित गर्न र कमजोरीलाई औँल्याउन मिडियाको भूमिका निकै रहेको उहाँले बताउनुभयो ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूलाई मिडियाले सधैँ सकारात्मक सुझाव दिइरहेको उहाँको भनाइ छ । खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले भने पनि आठ निकायलाई एक ठाउँमा ल्याएर गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । सडक विभागले सडक मर्मत गरे पनि अरु निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको एक सय वर्ष पुरानो पाइप एकातिर समस्या आयो भनेर गर्दा नजिकै अर्काेतिर खाल्डा पर्ने भइरहेको छ ।” मन्त्रालयमा सबैले सामूहिक निर्णय गर्ने र कार्यान्वयन चाहिँ आआफ्नो जिम्मेवारीअनुसार गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन कायम गराउन, यातायात क्षेत्रको समस्या प्रदेशसँगको समन्वयमा समाधान गर्न र भौतिक पूर्वाधार क्षेत्रमा रणनीतिक नीति बनाएर लागू गर्न लागेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया