सशस्त्रका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस



काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्रकै अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले गरेको छानबिनपछि बर्खास्तको सिफारिस भएको हो ।

उनलाई भविष्यमा सरकारी सेवामा समेत योग्य नहुने गरी बर्खास्त सिफारिस भएको हो । सिफारिसबमोजिम गृह मन्त्रालयमा त्यसको कागजात बनिरहेको स्रोतले जनाएको छ । बर्खास्तको निर्णय भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेको विषय सार्वजनिक भएको थियो ।

जबरालाई असोज ११ गते राति काठमाडौंस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उक्त घटनासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले असोज १९ गते एआईजी दाहाललाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १० : ५२ बजे