काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको नाम जोडेर उपसचिवहरूको सरुवामा चलखेल गरेको आरोप लागेपछि मन्त्रीकी निजी सचिव (उपसचिव) सन्ध्या सिग्देलको सरुवा गरिएको छ। उपसचिव सिग्देललाई शुक्रबार खानी तथा भूगर्भ विभागमा पठाइएको हो।
मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री साहकै निर्देशनमा उनलाई तत्काल रमाना लिएर जाने गरी सरुवा गरिएको हो। ती कर्मचारीले सिग्देलले शुक्रबार नै रमाना बुझेर मन्त्रालय छाडेको जानकारी दिएका छन्।
विवाद गत असोज १६ गते मन्त्रालयका १३ जना उपसचिवको सरुवासम्बन्धी निर्णयबाट सुरु भएको थियो। सचिवस्तरीय निर्णयबाट भएको उक्त सरुवामा मन्त्रीको निर्देशन रहेको भन्दै सिग्देलले सचिवमार्फत प्रक्रिया अघि बढाएको आरोप लागेको थियो। तर, यस विषयमा मन्त्रीलाई नै वास्तविकताबारे जानकारी नदिई गुमराहमा राखिएको उजुरी परेपछि विवाद सार्वजनिक भएको थियो।
यस प्रकरणमा हेलो सरकारमा उजुरी परेपछि मन्त्रालयभित्रको सरुवा प्रक्रियामाथि प्रश्न उठेको थियो। त्यसपछि मन्त्री साहको निर्देशनमा असोज १६ गते गरिएको सरुवाको निर्णयसमेत रद्द गरिएको छ।





प्रतिक्रिया