चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन



काठमाडौँ : सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताए।

उनका अनुसार नागरिकलाई अत्यावश्यक सेवा लिन अनावश्यक सास्ती नदिन समेत निर्देशन दिइएको छ ।

यसैगरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउन कार्यविधिको मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताए । स्वेदशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकलाई अत्यावश्यक सेवाका लागि अनावश्यक सास्ती नदिने भन्ने निर्णय भएको छ । यो विषयमा हामीले पत्राचार गरेर सम्बन्धित निकायमा पठाएका छौँ । यी लगायतका निर्णयहरू केन्द्रीय अनुगमन समितिबाट भएका छन् । त्यसैगरी स्वदेशी तथा विदेशी लगानीको प्रवर्द्धन गर्ने, लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य, समयबद्ध बनाउन एउटा ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा हुँदैछ । यसले लगानी गर्ने प्रणालीलाई सुधार गर्ने र जसको कारणले गर्दा स्वदेशी तथा विदेशी लगानीमा अभिवृद्धि हुने अपेक्षा र विश्वास गरिएको छ ।’

उक्त कार्यविधिले लगानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता अर्यालको भनाइ छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : ११ बजे