कोशी प्रदेशमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा



विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोशी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ ।

संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबिच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा प्रदेशहरूले शासन सञ्चालन र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास तथा साझा चुनौतीबारे छलफल हुनेछ । साथै, संविधानप्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुनी तथा नीतिगत सुधार र वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल गरिनेछ ।

त्यसैगरी, प्रदेशहरूबीच साझा हितका विकास आयोजना तथा कार्यक्रमको पहिचान र कार्यान्वयन, अन्तरप्रदेश पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँट, विपद् व्यवस्थापनमा सहकार्य तथा सुशासन र सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासको आदानप्रदानलाई सम्मेलनले प्राथमिकता दिनेछ ।

प्रदेश सरकारहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै नागरिकले अनुभूति गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने, विकासका उपलब्धिलाई जनतासम्म पुर्‍याउने र प्रदेशहरूको आन्तरिक आय अभिवृद्धिको सम्भावनालाई उपयोग गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनमा प्रस्तुत गरिने साझा एजेन्डा, प्रस्तावित कार्ययोजना र प्रतिबद्धतामार्फत प्रदेशहरूबीचको सहकार्यलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने दिशामा ठोस पहल गरिने जनाइएको छ ।

कोशी प्रदेश सरकारले सातै प्रदेशको सक्रिय सहभागितामा सम्मेलनलाई उपलब्धिमूलक बनाउँदै संघीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : ५६ बजे