अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित



अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा जित हासिल गरेको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालका लागि अमेरिकी कांग्रेसको नियन्त्रण डेमोक्रेटिक पार्टीको हातमा पुगेको छ ।

निर्वाचनमा पराजय स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले राम्रो प्रदर्शन गरेको बताएका छन् । उनले इरान युद्ध र इन्धनको बढ्दो मूल्यले पनि निर्वाचनमा आफ्नो पार्टीको हारमा भूमिका खेलेको स्वीकार गरेका छन् ।

निर्वाचन परिणाम आउनुको कारण स्पष्ट छ । जीवनयापनको बढ्दो लागतप्रति अमेरिकी मतदाता आक्रोशित छन् र त्यसको दोष राष्ट्रपति ट्रम्पलाई दिइरहेका छन् ।

सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीको बलियो पकड रहेका टेक्सास, ओहायो र कन्सासजस्ता राज्यमा समेत जित हासिल गरेको छ । कन्सासमा झन्डै एक शताब्दीदेखि डेमोक्रेटिक पार्टीले सिनेट निर्वाचन जित्न सकेको थिएन ।

मिचिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल-सयदले जितको दाबी गरेका छन् । मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरूले सबैभन्दा अप्रत्याशित उम्मेदवारमाथि विश्वास गर्नुभयो ।’ उनी अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बन्नेछन् ।

कांग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेसँगै डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पका आगामी दुई वर्षका योजनामा अवरोध पुर्‍याउन सक्नेछ । साथै, ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउने प्रयाससमेत गर्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  २ : ०४ बजे