काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकोले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेका विभिन्न तथ्याङ्कले देखाएको छ ।
सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने र धु्रमपान तथा सुर्तीजन्यले फोक्सोको क्यान्सर हुन्छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने उल्लेख गरिएको छ । सोही चित्रका कारण पनि कतिपयले सुर्तीजन्य पदार्थको सेवन नगरेको पाइएको छ ।
सरकारले यही असार ८ गते सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा विगतभन्दा सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको देखाइएको छ । सर्वेक्षणमा पुरुषको तुलनामा महिलाहरुमा सुर्तीजन्य पदार्थको सेवन एकदमै कम मात्रामा हुने गरेको छ ।
सर्वेक्षण अनुसार १५ देखि ४९ वर्ष उमेरका २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । सोही स्वास्थ्य सर्वेक्षण २००१ मा सुर्तीजन्य पदार्थको सेवन गर्ने ४५ प्रतिशत पुरुष र २३ प्रतिशत महिला रहेका थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । १५ देखि ६९ वर्ष उमेर समूह ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
केही वर्षअघि नेपालमा ३० प्रतिशत (५१ दशमलव ९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका थिए । पहिलो पटक धुम्रपान सुरु गर्दाको औसत उमेर १७ दशमलव ८ रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुर्तीजन्य पदार्थ नियमन तथा स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख डा भक्त केसीले सन् २०१९ र २०२२ मा सार्वजनिक भएको तथ्याङ्कले सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको बताए । उाले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने हानिका बारेमा मानिसमा आएको जनचेतनाको कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै गएको बताए । “सुर्तीजन्य पदार्थले पार्ने असरबारे मानिसमा जनचेतना मानिसले थाहा पाए”, उनले भने, “अनि मानिसहरुले विस्तारै चुरोट, खैनी सेवन गर्न छाडे ।”
सरकारले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम तथा नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली–२०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१’ ल्याएपछि सेवनमा घटेको पाइएको हो । उनले सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्न बनेका ऐन, नियमावली, निर्देशिका पनि कार्यन्वयन हुँदा सेवन घटेको बताए ।
सर्वेक्षण २०२२ मा सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषमध्ये १७ प्रतिशतले दैनिक धुम्रपान गर्ने र ११ प्रतिशतले कहिलेकाहीँ मात्र गर्ने गर्दछ । दैनिक चुरोट पिउने पुरुषमध्ये ५४ प्रतिशतले पाच वटाभन्दा कम र २५ प्रतिशतले पाँचदेखि नौवटा चुरोट र २१ प्रतिशतले १० वटाभन्दा बढी चुरोट पिउने गर्दछन् ।
सन् २०१५ मा एक्सन नेपालले गरेको अध्ययनमा पनि सुर्तीजन्य पदार्थको बट्टामा राखिएको चित्रका कारणले दैनिक ११ वटा खिल्ली खाने मानिसले पाँचवटा खिल्ली चुरोट सेवन गर्ने गरेको उल्लेख गरिएको छ ।
कानुन कार्यन्वयनमा समस्या
तीनवटै कानुन ल्याएपछि ती कानुन प्रभावकारी कार्यन्वयन नहुँदा सरकारले भनेजस्तो सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण हुन नसकेको पाइएको छ । ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने उल्लेख छ । तर अहिले पनि सार्वजनिक स्थानमा धूम्रपान र सुर्तीसेवन गरिरहेको पाइएको छ । चोकचोकमा खुलेका चियापसलमा युवाहरुले चुरोट तानिरहेको देख्न सकिन्छ ।
सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा ‘कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन’ भन्ने उल्लेख गरिएको छ । तर अहिले पनि निर्बाध रुपमा जो कोहीले पनि सजिलै चुरोट किन्ने गरेको पाइएको छ ।
सोही दफाको उपदफा ३ मा ‘कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयलगायतका सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन’ र उपदफा ४ मा पनि ‘कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने’ उल्लेख गरिएको छ । तर यसविपरीत मानिसहरुले सुर्तीजन्य पदार्थको बिक्री वितरण गरिएको पाइएको छ ।
नियावलीको नियम ७ मा पनि उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा बिडी प्याकेट वा बट्टा तयार गर्नुपर्ने उल्लेख छ तर केही चुरोट उत्पादक कम्पनीले १० खिल्ली भएको बट्टा पनि उत्पादन गरी बेचिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासकसमेत रहनु भएका डा केसीले सुर्तीजन्य पदार्थसँग सम्बन्धित निकायबीच समन्वय नहुँदा नियन्त्रणमा समस्या परेको बताउँछन् । उनले नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय प्रशासन र स्थानीय निकायले कानुन कार्यान्वयनमा फितलो देखिएकोले समस्या परेको बताए । उनले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा अनुगमनको जिम्मा दिइएको भए पनि अनुगमन फिलतो रहेको बताए । उनले अन्य कानुन जस्तै सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न बनेका कानुन प्रभावकारी कार्यन्वयन गर्ने हो भने नियन्त्रण गर्न सकिने बताए ।
ऐनको दफा १७ सजायसम्बन्धी व्यवस्थाको उपदफामा (१) मा धूम्रपान वा सुर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूम्रपान वा सूर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा रु एक सय जरिबाना वा दुवै सजाय गर्नुपर्ने उल्लेख गरिएको छ । तर उक्त सजायको कार्यान्वयनसमेत फितलो रहेको पाइएको छ । नेपालमा वर्षेनी २७ हजार एक सय ३७ जना सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छन्, जुन नेपालमा मृत्युको करिब १५ प्रतिशत रहेको हो ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गरेको बताए । उनले देशभरि नै प्रहरीले सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे सचेतना फैलाइरहेको बताए । उनले कानुनले सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारबाहीको अधिकार नदिएको हुनाले कारबाही गर्न समस्या परेको बताए । “कानुनले ठ्याक्कै मुद्दा चलाउने ठाउँ दिएको छैन,” उनले भने, “त्यसैले सामान्य खालका कारकाही गरेर छाड्ने गरेको छौँ ।” नेपालमा वर्षेनी सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिब रु ४७ अर्ब क्षति हुने गरेको छ ।





प्रतिक्रिया