मधेसको इतिहास लेखन प्रारम्भ



महोत्तरी । मधेस प्रज्ञा प्रतिष्ठानले मधेसको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ । मधेसको इतिहास लेखनसम्बन्धी बर्दिबास–४ माईस्थानमा आज सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गरेका छन् ।

“मधेस र मधेससँगै जोडिएको भारतका विभिन्न जिल्लाबाट आउनुभएका भाषाविज्ञ तथा इतिहास खोजकर्ताबाट प्राप्त सुझाव नै लेखनका आधार हुन्”, समापन कार्यक्रममा अध्यक्ष ‘भ्रमर’ले भने, “प्राप्त तथ्याङ्क र आधार समाएर इतिहास लेखिने हुँदा त्यसको सुरुआत यहीँबाट भएको छ ।” यो कार्यले तीन वर्षभित्र निश्चित आकार लिइसक्ने उनले बताए ।

मुलुकका पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको तराई क्षेत्रका विभिन्न भाषाका विज्ञ, अन्वेषक र इतिहासका खोजकर्ताको सहभागितामा सम्पन्न गोष्ठीले मधेस प्रदेशका आठ जिल्लामात्र समेटिए पनि इतिहास लेखनमा सम्पूर्ण तराई ल्याइने निर्णय गरेको प्रतिष्ठानका सदस्य दिनेश यादवले बताए ।

अब लेखिने मधेसको इतिहासमा प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहटका भाषा, संस्कृति, परम्परा र विभिन्न जातजातिको विकासक्रम उल्लेख गरिने प्रतिष्ठानको अठोट छ । नेपालका प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहट क्षेत्रसँग अहिलेको भारतका सीमा क्षेत्रका भाषा, संस्कृति, वेशभूषा, परम्परा र अन्य रीतिथिति पनि मेल खाने हुँदा भारतीय विद्वानहरूको समेत गोष्ठीमा सहभागिता गराइएको अध्यक्ष ‘भ्रमर’ ले स्पष्ट पारे ।

शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरी सुरु भएको गोष्ठीमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मधेसको भाषा÷साहित्य र राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने कार्यपत्र प्रस्तुत गरे ।

त्यसैगरी पश्चिम नेपालका राना थारूको र दाङ क्षेत्रका डगौरा थारूको भाषा÷साहित्य र संस्कृतिबारे डा जीवन राना र कृष्ण सर्वहारीले कार्यपत्र प्रस्तुत गरे । त्यस्तै भारतीय प्राज्ञ अयोध्यानाथ झा र डा पिताम्बर यादवले मैथिली, भाषाविज्ञ गोपाल अश्कले भोजपुरी र विक्रममणि त्रिपाठीले अवधी भाषा÷साहित्यको विकासक्रमबारे धारणा राखे ।

सम्पन्न गोष्ठीमा मधेसको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म, मधेसको इतिहास–गण्डकी पूर्व कोशी पश्चिमसम्म, मधेसको इतिहास–पूर्व मेची–कोशीसम्म, मधेस प्रदेशको साहित्य संस्कृति र मधेस प्रदेशको भाषा÷कलासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए ।

दुई मैथिली कृति विमोचित
मैथिली भाषाका दुई कृति विमोचित भएका छन् । बर्दिबास–४ माईस्थानमा आयोजित मधेस प्रदेशको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीकै बीच मैथिली भाषा साहित्यका साधक रामभरोस कापडी ‘भ्रमर’बारे लेखिएका दुई मैथिली कृति पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विमोचन गरेका छन्।

विमोचित कृतिमा प्रोमिशा मिश्राद्वारा लिखित तथा प्रसिद्ध मैथिली भाषाविज्ञ चन्द्रेश सम्पादित ‘रामभरोस कापडी भ्रमरः व्यक्तित्व एवं कृतित्व’ र मैथिली भाषा रसाहित्य साधक डा महेन्द्रनारायण रामद्वारा सम्पादित ‘पतियाक आखरमे गुँजैत भ्रमर’ हुन् । शुक्रबार सुरु भएर आज सम्पन्न भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमै मैथिली साहित्यले दुई कृति पाएको छ ।

विमोचित कृतिमध्ये ‘रामभरोस कापडी भ्रमरः व्यक्तित्व एवं कृतित्व’मा प्राज्ञ भ्रमरको जीवनी, साहित्यिक यात्रा र योगदानका विषय समेटिएका छन् । त्यसैगरी ‘पतियाक आखरमे गुँजैत भ्रमर’ कृतिमा विश्वभरि छरिएर पनि मैथिली भाषा÷साहित्यको विकासमा योगदान दिँदै आएका मैथिली भाषाका साहित्यकारहरूले भ्रमरलाई पठाउनुभएका पत्र सामेल छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रहिसक्नुभएका हाल मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भ्रमरबारे दुवै विमोचित कृतिले विस्तारमा परिचय दिएको पूनम झा मैथिलले बताए । दुवै कृति प्रकाशन भने भारतको बिहार प्रान्तको मधुवनी र सुपौलमा भएको हो । विमोचित दुवै कृतिले मैथिली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिने प्रसिद्ध नाटककार एवं सिने कलाकार रमेशरञ्जन झाको प्रतिक्रिया छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : २६ बजे