आइपिएलमा चेन्नई सुपर किंग्सको छैठौं हार



इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सले छैठौं हार व्यवहोरेको छ।

गए राती पन्जाब किंग्ससँग ११ रनले पराजित हुँदै जारी लिगमा ८ खेलमा छैठौं हार भोगेको हो। यता समान खेलमा पन्जाब चौथो जितका साथ छैठौं स्थानमा उक्लिएको छ।

१ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनायो। उसका लागि अम्बाती रायुडूले सर्वाधिक ७८ रन बनाए। मात्र ३९ बल खेलेका उनले ७ चौका र ६ छक्कासहित बिस्फोटक अर्धसतकीय पारी खेले।

यस्तै ओपनर ऋतुराज गायवाडले ३० रन बनाउँदा कप्तान रविन्द्र जडेजाले २१ तथा महेन्द्र सिंह धोनीले १२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खराब सुरूआत गरेको चेन्नईका लागि ओपनर रोविन उथप्पा १, मिचेल सान्टनार ९ र शिवम दुबे ८ रनमा आउट भए।

चेन्नईलाई रोक्न पन्जाबका कागिसो रबाडा र ऋषि धवनले २-२ विकेट लिए। सन्दीप शर्मा र अर्शदीप सिंहले १-१ विकेट हात पारे।


त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। उसका लागि शिखर धवन सर्वाधिक ८८ रन बनाए। ५९ बलमा ९ चौका र २ छक्कासहित उनी अविजित रहे। भानुका राजपक्षले ४२ रन बनाउँद कप्तान मयंक अग्रवाल १८, लियाम लिभिङस्टोन १९ र जोनी बेयरस्टोले ६ रन बनाए।

चेन्नईका ड्वेन ब्राभोले २ तथा महेश थिक्षनाले १ विकेट हात पारे।

यो जितसँगै अंक तालिकामा पञ्जाब ८ अंकसहित छैठौं स्थानमा उक्लिएको छ।

७ खेल खेलेको गुजरात ६ मा जितसहित १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ। समान खेलबाट १०-१० अंक जोडेका हैदराबाद र राजस्थान रोयल्स रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्।

यस्तै ८ खेलबाट समान १०-१० अंक जोडेका लखनऊ र बेंगलोर चौथो र पाँचौ स्थानमा छन्।

दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ। कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ।

चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा यथावत रहँदा सबै ८ खेल गुमाएको मुम्बई अंक विहिन छ।

चेन्नईले अव आइतबार हैदराबादसँग खेल्नेछ । पन्जाबले आगमी शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।

आजको खेलमा बैंलोर र राजस्थान भिड्नेछन्।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ४६ बजे