गठवन्धनविरुद्धको एमाले राजनीति




गोपाल खनाल

स्थानीय सरकारका लागि निर्वाचन नजिकिंदै गर्दा केपी शर्मा ओलीले नेतृत्वको एमाले र शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठवन्धनबीच परिणामलाई आफ्नो पक्षमा पार्न शक्ति केन्द्रित छ । निर्वाचनपूर्वको गठवन्धन गलत हो तर गठवन्धननै निर्माण गरेपछि आफ्नो पक्षमा परिणाम ल्याउन प्रयास गर्नु स्वभाविक छ । जसरी पनि जित्नुपर्छ भन्ने मेकियावेलियन बिचारबाट धु्रबहरुको निर्माण हुनु चाँही लोकतन्त्रका लागि घातक छ । मेकियावेलीकोे ‘द इण्ड्स जस्टिफाइज् द मिन्स’ अर्थात् ‘परिणामले प्रक्रियालाई न्यायोचित गर्छ’ भन्ने सिद्धान्तले राजनीति घोकाधडी हो, बाहुबलीले राज गर्छ, बिचार र सिद्धान्तले होइन भन्नेतर्फ पूर्याउँछ । शक्तिहिन गठवन्धन त्यसैको एउटा रुप हो ।
दोश्रो ठूलो दलका सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालको एकमात्र उदेश्य ठूलो दल एमाले र त्यसका अध्यक्ष ओलीलाई जसरी पनि पराजित गर्ने देखिन्छ । त्यसका लागि संघीय निर्वाचनसम्मै पर्खनुपर्छ तर त्यसको आधारमाथि कब्जाको प्रयास भइरहेको छ । यो निर्वाचनरुपी युद्धमा आउने परिणाम गठवन्धनलाई संघीय निर्वाचनसम्म गठजोड कायम राख्न वा नराख्न निणर्ायक हुन्छ । त्यसैले प्रतिशोधी गठवन्धनका लागि मेकियावेली बिचार पदपदर्शक हो । जसलाई प्रमाणित गर्ने अभिव्यक्तिहरु प्रधानमन्त्री देउवादेखि माधवसम्मका आइरहेका छन् ।

रामचन्द्रदेखि शुरुभएको ‘एमालेफोविया’ र खासगरी ‘ओलीफोविया’लाई देउवाले लालमोहर लगाउँदै प्रचण्ड र माधवलाई धोका दिनु नहुने बताएका छन् । प्रचण्ड र माधवले संयुक्त शक्ति लगाउँदापनि ओलीसँग लड्ने सामथ्र्य राख्न सक्दैनन् । रामचन्द्रले ‘एमाले अहिले पनि सबैभन्दा बलियो शक्ति हो’ भन्नेबाट शुरुभएको भाष्य अनुमोदन गरेर देउवाले टिकट माग्न गएका कांग्रेसीलाई यस्तो आशयमा थर्काउँछन्- एमालेसँग एक्लै लड्न सक्छौं ? सक्दैनौ भने हसिया हथौडा र कलममा मत हाल्न तयार होऊ ।’ प्रचण्डले त कार्यकर्तालाई एमाले र ओलीलाई एक्ल्याउन घरी ‘अन्तिम युद्धको तयारी गर्न’ निर्देशन दिन्छन् भने एमाले र ओलीबिरुद्ध ‘ग्रेट ब्याटल्ड’ को उद्घोष गर्छन् । खिइएर मरिच जस्तो भइसक्दापनि जनयुद्धकालिन क्रान्तिकारी आत्मारतीमा रमाउन सक्नुलाई ठूलै कला मान्नुपर्छ । माधव नेपालको पार्टी निर्वाचनसम्ममा करिवकरिव दशमतलतिर सिमित हुने छाँट देखिदैंछ । एक्लै लड्दा मेयर उपमेयर होइन, एउटा वाड अध्यक्ष जित्ने हैसियत नहुँदापनि देउवासँग पूर्वएमालेको हैसियत माग्ने हिम्मत जुटाउनुलाई साहसनै मान्नुपर्छ ।

ओली र गठवन्धनका अध्यक्षबीचको एउटा फराकिलो अन्तर के हो भने ओली गठवन्धनको आलोचना गर्छन तर विकास र समृद्धिका सोच र कार्यक्रमसहित जनमतका लागि आब्हान गर्छन् । तर गठवन्धनका अध्यक्षहरु वालुवाटारमा ओलीप्रति आक्रोस पोख्छन्, जनतामा बीचमा पुगिहाले विकास र समृद्धिका सोच र कार्यक्रमतिर प्रवेश गर्नै चाहँदैनन् । किनभने गठवन्धन देशको हित र जनताका समस्या समाधानका लागि बनेकै होइन ।
यो लेख मूल्त एमाले भर्सेज गठवन्धनको अवस्था कस्तो रहन्छ भन्नेमा केन्द्रित छ ।

अस्वीकृति गठवन्धन संस्कृति
निर्वाचनपछि कुनै दलको बहुमत नआउँदा सरकार निर्माण हेतु गठवन्धन हुनु स्वभाविक मानिन्छ । संयुक्त सरकार भनेकै त्यही हो । प्रत्यक्ष निर्वाचित कार्यकारी भएका मुलुकमा ५१ प्रतिशत आवश्यक हुनेहुँदा निर्वाचन प्रणालीले बहुचरणबाट भएपनि छिनोफानो गर्छ । तर दुइभन्दा बढी दल हुने संसदले प्रधानमन्त्री छान्ने प्रणालीमा प्रायश गठवन्धन सरकार प्रयोजनका लागि बन्छन् । छिमेकी भारतमा गठवन्धन बनाएर निर्वाचन प्रतिस्पर्धा भएपनि एक दशकमै निर्वाचनअघिको गठवन्धन असफल भएको प्रमाण छ । अव भारतमा भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलाएन्स (एनडीए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलायन्स (युपीए) गठवन्धन छैन । भाजपा एक्लै भीमकाय शक्तिका रुपमा उदाएको छ भने सबैभन्दा पुरानो गान्धी-नेहरुको पार्टी कंग्रेस अस्तित्वको लडाईमा देखिन्छ ।
नेपालको हकमा पनि निर्वाचनपूर्वको गठवन्धन सफल भएको देखिदैंन, २०७४ कै स्थानीय सरकारको निर्वाचनमा भएको नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठवन्धनको परिणाम एउटा बलियो प्रमाण हो । एमाले र माओवादीबीचको गठवन्धनको पार्टी एकताको रणनीतिक लक्ष्य किटान भएपछिको अवस्थाको हो, फेरी यो वामपन्थी गठवन्धन थियो । गठवन्धन आफैंमा गलत रहेको अवस्थामा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीचको यो चुनावी ‘कन्ट्रयाक्ट’ले अपार सफलता पाउँछु भन्नु भ्रम हो । फेरी यी चारबटै पार्टीमा आन्तरिक विवाद छन् घरेलु र बाह्य सम्वन्धका मुद्दामा । एमसीसी, बीआरआई, भारत, चीन, अमेरिकाप्रतिको दृष्टिकोण र आफन्त नातागोता नियुक्तिका सन्दर्भमा । नेपाली कांग्रेस तुलनात्मक उत्साहित हुनसक्छ कम्युनिष्ट बिभाजित भएका बेला कम्युनिष्टकै काँधमा बन्धुक राखेर कम्युनिष्टलाईनै पड्काउने अवसर आयो भनेर । तर त्यहाँपनि शेखर कोइरालाको ४० प्रतिशत शक्ति बिभाजित गर्ने देउवा खेलले संस्थापनप्रति असन्ुतष्टी बढ्दो छ । प्रचण्ड-माधवले चर्को आवाज निकालेपनि उभिएको जमिनमै पहिरो गएको अवस्था छ । कदाचित् देउवाले छोडिदिएमा प्लेकार्ड बोकेर सडकतिरै पलेटीकस्न पुग्नुपर्ला भन्ने त्रास छ ।

कम्युनिष्टको पुर्नगठन
एमाले कानुनत् विभाजन भएको हो तर साहै थोरै हिस्सामात्र माधव नेपालसँग गएको हो । संसदीय दल वा पार्टी केन्द्रीय समितिको २० प्रतिशत ल्याए पार्टी विभाजन गर्ने अध्यादेश ल्याएर माधवले समाजवादी बनाएका हुन् । अर्थात् माधवको पार्टीको गठन अध्यादेशबाट भएको हो, उनी अध्यादेश अध्यक्ष हुन् । बिभाजनताका स्थानीय तहमा उनीतिर लागेका जनप्रतिनिधिको संख्या १० प्रतिशतभन्दा कम थियो । अहिले समाजवादी छाडेर एमालेमा फर्कर्नेको संख्या उल्लेख्य छ । जनमतका दृष्टिकोणमा समाजवादीमा गएको मत ३ प्रतिशतमात्र हो । मतदानसम्म यो निरन्तर घट्छ । किनकी स्थानीय सत्ताबाट प्रत्यक्ष लाभ नपाउनेहरु मुल घरमा फर्किन्छन् । त्यसैले विभाजनको असर बाहिर प्रचार भएजस्तो ठूलो हुँदैन ।
समाजवादी खोलेपछिका यी महिनामा ठूलो संख्यामा ती पार्टीमा लागेका जनप्रतिनिधि, स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता एमाले फर्केका छन् । माधवले लिएर गएको शक्तिभन्दा ठूलो शक्ति माओवादीबाट एमाले प्रवेश गरेको छ । एमाले अध्यक्ष ओलीले भनेजस्तै एमाले नेकपाकै निरन्तरता देखियो, माओवादीबाट आएका नेताहरुको सम्माजनक केन्द्रीय हैसियतले । माओवादीमात्र होइन, अन्य पार्टीबाट पनि एमाले प्रवेश गर्नेको संख्या ठूलो छ । दैनिकजसो अध्यक्ष ओली पूर्वपश्चिमतिरको राजनीतिक दौडाहामा छन्, जहाँ हजारौं संख्यामा एमाले प्रवेश भएको छ । यो तथ्य हो ।
ओली नेपालको सबैभन्दा ठूलो दल बामपन्थी दलका शक्तिशाली अध्यक्ष हुन् र देशभरका बिचारमा प्रतिवद्ध कम्युनिष्ट कार्यकर्ता, कम्युनिष्टप्रति सहानुभूति राख्नेहरुले उनलाई विश्वास गरेका छन् । कांग्रेसका सभापति देउवालाई नेता बनाएर समाजवादमा पुग्ने प्रचण्ड र माधवको सिद्धान्त र व्यवहारवादी राजनीतिले कम्युनिष्ट कार्यकर्ता र मतदातालाई कहिकतै अपिल गर्दैन । एमाले महासचिव शंकर पोखरेलले अघि सारेको प्रस्तावनाजस्तै अव नेपालका कम्युनिष्ट, बामपन्थी समाजवादी ध्रुवको नेतृत्व एमालेले गर्छभने पूँजीवादी उदारवादी ध्रुवको नेतृत्व कांग्रेसले गर्छ । यो निर्वाचनले नेपाली राजनीतिलाई दुइदलीय प्रतिस्पर्धातर्फ डोहोर्याउँछ । प्रचण्ड-माधव देउवाका बीच लामबद्ध भइरहँदा देशभरका उनीहरुका कार्यकर्ता एमालेमा समाहित भइसकेको वोध उनीहरुले गरेकै हुनुपर्छ । यो भनेको एमालेको पक्षमा कम्युनिष्ट पुर्नगठनको आरम्भ हो ।

मधेशमा एमाले आकर्षण
२०७२ असोज ३ मा संविधान जारी गर्न प्रमुख भूमिका खेलेका कारण एमाले र ओलीलाई मधेशविरोधी घोषणा गर्दै मधेशवादी दलहरुले त्यहाँ प्रवेशमा समेत निषेधको प्रयास गरेका थिए । त्यसैको प्रमाण थियो एमालेको मेची-महाकाली अभियानमाथि २०७३ मा सप्तरीको मेरठमा भएको आक्रमण । त्यो एमालेविरोधी राजनीतिको आक्रामक रुप थियो । यो छ बर्षमा मधेशी दलले एमालेसँग सत्ता सहकार्य गर्नेदेखि मधेशी दलका महत्वपूणर् जिम्मेवारीमा रहेका केन्द्रीयस्तरकै नेता उल्लेखनीय संख्यामा एमाले प्रवेश गर्नुलाई राजनीतिक मुल्याकंनको आधार मान्नुपर्छ । परम्परागत प्रभाव क्षेत्र एउटा पाटो भयो, तर आज मधेशमा कुनै पार्टी र कुनै नेताप्रतिको आकर्षण बढेको छ भने एमाले र ओलीप्रतिको नै हो । २०७४ को स्थानीय निकायको निर्वाचनमा एमाले मधेश प्रदेशमा पाँचौ ठूलो दल हो, जसले १३६ स्थानीय तहमध्ये १८ तहमा प्रमुख जितेको थियो, त्यो भनेको १३.२३ प्रतिशतमात्र हो । २०६४ पछिको निर्वाचनको प्रवृति बिश्लेषण गर्दापनि मधेशमा मुख्यशक्तिका रुपमा कांग्रेस र एमालेनै देखिएका छन्, माओवादी र मधेशवादी दल खहरेजस्ता ह्वात्तै आउने र कमजोर बन्दै जानेक्रम देखिएको छ । कुनै बेला मधेश आन्दोलनको नेतृत्व गर्ने शिव पटेलहरुनै एमाले प्रवेश गरेर ‘जय मधेशवाला नारा बोक्ने पार्टी एमालेमात्र हो’ भन्दैछन् भने राजनीति कताउन्मुख छ बुझ्दा हुन्छ । ओलीको नेतृत्वमा मधेश समृद्धि कार्यक्रम अन्तगर्त मधेश प्रदेशका आठवटै जिल्लामा चक्रपथ, सदरमुकामसँग जोड्ने फराकिलासडक, ढल खानेपानी व्यवस्थापन लगायतका थुप्रै काम भए ।


राष्ट्रिय मनोविज्ञानको निर्माण
देउवा गठवन्धनले २०७४ को मत परिणामलाई हेरेर एमालेविरुद्ध सोझो हिसाव निकालेको देखिन्छ । राजनीतिमा त्यस्तो गणितीय जोडघटाउको अर्थ रहँदैन । फेरी यो आवधिक निर्वाचन हो, पाँचबर्षमा त्यसैपनि दलहरुले आफ्नो शक्ति पुनपरिक्षण गर्नुपर्छ । यो निर्वाचन दलहरुको पाँचबर्षको परिक्षण हो, जो उनीहरुका कार्यसंपादनका आधारमा हुन्छ । गठवन्धनले दलीय परिक्षणलाई निषेध गरेको छ । अर्को, ओलीलाई परमादेशबाट हटाइ सकेपछिको यो सरकार सत्ता संचालनमा पूणर्त् असफल छ अर्थतन्त्रका सूचकदेखि विदेश सम्वन्ध संचालनसम्मलाई हेर्दामात्र पुगिहाल्छ ।
एमाले प्रष्ट मार्गचित्रसहित जनतामा बीचमा गइरहेको छ भने गठवन्धनबीच विवाद र अन्यौल छ । भागबण्डा मिलाउन र उम्मेद्वार चयन गर्न समस्यामात्र छैन, गठवन्धनको अवज्ञा जिल्लाबाट शुरुभएको छ । गठवन्धन आफैंमा कमजोरहरुबीच नै हुन्छ र सत्तास्वार्थको मिसनबाट देशको विकास सम्भव छैन भन्ने वलियो मनोविज्ञान निर्माण भएको देखिन्छ । एमालेको पक्षमा आएको जनलहरले हिजो एमाले र ओलीविरुद्ध गरिएका टिप्पणी र बनाइएका भाष्य गलत रहेको भन्ने बुझाइले व्यापकता पाएको छ । मधेशकै जनताले यो महसुस गरेर ओलीलाई हार्दिक स्वागत गरेका छन् ।
अर्को महत्वपूणर् पक्ष, पाँचबर्षमा ३६ लाख ६१ हजार २ सय ९९ थपिएका सवै युवा मतदाताको आकर्षण समकालिन नेतामा ओलीप्रति बढी देखिन्छ । किनकी ओलीसँग युवादेखि सिनियर नागरिकसम्मलाई अपिल गर्ने कार्यक्रम छन् । युवा मतदाताले पार्टी कुन रोज्लान्, त्यो एउटा कोण भयो, तर व्यक्तिप्रतिको आकर्षण उनीहरुमा देखिन्छ । ओलीमा पुर्वीयदेखि पाश्चात्य दर्शन, परम्परागत पहिचानको संरक्षणदेखि अत्याधुनिक प्रविधिको प्रयोगसम्मका ज्ञान र सोच छन्, जो सरकारमा रहँदा कार्यान्वयनमा आएका हुन् ।
एमाले एक्लै र अर्कातिर गठवन्धनहुँदा पनि गठवन्धनधारीमा उत्साह नदेखिनुको कारणनै जनमत सकारात्मक नहुनु हो । प्रष्ट उदेश्यसहितको मार्गचित्रधारी एमाले र बिभिन्न स्वार्थसमुहको मार्गचित्र नै नभएको गठवन्धनबीचको प्रतिस्पर्धामा नेपाली मनोविज्ञानमा एमाले अघि देखिन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ०७ बजे