जेठ १ गतेदेखि लागू हुने गरी शनिवार र आइतवार विदा



काठमाडौं, वैशाख १४- सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९.३० देखि ५.३० सम्‍म बढाइएको छ ।
‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९.३० देखि साँझ ५.३० बजे सम्‍म कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ०६ बजे