प्रचण्डकी छोरी बोक्दैनौ भन्ने कांग्रेसलाई पीर बिसाउने ठाउँ छैन : अध्यक्ष ओली 



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई बोकेर हिँडिरहनु पर्दा पीर लुकाउने ठाउँ समेत नभएको बताउनुभएको छ । 

आज भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो–चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पिर बिसाउने ठाउँ पनि पाउनुभएन । ’

अध्यक्ष ओलीले प्रचण्डले आफ्नी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर धम्क्याएको भन्दै माओवादीमा अझै धम्काउने बानी गई नसकेको बताउनुभयो । उहाँले गठबन्धनले चुनाव हारेर केही दुर्घटना नहुने बताउनुभयो । ‘ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।’ ओलीको भनाई  थियो । 

पूर्वप्रधानमन्त्र समेत रहनुभएका अध्यक्ष ओलीले अब गठबन्धनको पत्तासाफ भइसकेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धनमा रहेकाहरू पटक पटक प्रधानमन्त्री भइसकेको व्यक्ति भएको भन्दै उहाँले उनीहरूको कार्यकालमा भएका एउटा मात्र र्सिजनशिल काम देखाउन चुनौती दिनुभयो । 

चितवनको विकासको जिम्मा एमालेले लिने भन्दै उहाँले ढुक्क भएर एमाले र एमालेले समर्थन गरेका उम्मेदवारहरूलाई मतदान गर्न चितवनवासीलाई आग्रह गर्नुभयो । 

चितवनका कांग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै उहाँले भोलि प्रचण्डका भाइ,भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउन सक्ने भन्दै सजक रहन आग्रह गर्नुभयो । 

आफ्नी छोरीलाई जिताए २० वर्ष यही गठबन्धन राखेर कांग्रेस कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाउने घोषणा प्रचण्डले गरिसकेको भन्दै अध्यक्ष ओलीले बन्न चाहिँ काग्रेंस हुनु पर्ने भोट चाहिँ सधैँ प्रचण्डका आफन्तलाई हाल्नु पर्ने ? भन्दै प्रश्न गर्नुभयो । 

निर्वाचन आयोगले चितवनका काग्रेंस कार्यकर्तालाई धम्काइरहेको भन्दै अध्यक्ष ओलीले फरक पार्टीको झण्डा बोकेर हिँड्ने प्रचण्ड र शेरबहादुरलाई अर्को पार्टीको झण्डा र उम्मेदवारको प्रचारमा नलाग्न रोक्न आग्रह गर्नुभयो । उहाँले हैन भने काठमाडौंमा प्रचण्डले काग्रेंसको झण्डा बोक्दा आयोग बोल्दैन चितवनमा काग्रेंस कार्यकर्ताले झण्डा बोक्दा बोल्छ भनेर यस्तो पक्षपाती कसैले गर्न नहुने बताउनुभयो । 

उहाँले भरतपुरका जनतालाई माओवादीहरूले निर्वाचन विथिल्नसक्ने भन्दै त्यसका लागि सजक हुन आग्रहसमेत गर्नुभयो । आगामी सरकार नेकपा एमालेकै बन्ने भन्दै उहाँले कहीँ कतै बजेट नआउँला भनेर कसैले चिन्ता गर्नु नपर्ने बताउनुभयो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : १५ बजे