एलन मस्कले थाती राखे ट्वीटर खरीद प्रक्रिया



विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गर्ने सहमति तत्कालका लागि थाती राखेका छन् ।

नक्कली तथा स्पाम अकाउन्टका विषयमा उठेको सवालका विषयमा प्रष्ट हुन  बाँकी रहेको भन्दै मस्कले तत्कालका लागि ट्वीटर खरीदको सहमति यथास्थितिमा राखिएको जनाएका छन् ।

एक ट्वीट गर्दै मस्कले भनेका छन् : ट्वीटरका स्पाम तथा फेक अकाउन्टहरुको संख्या कूल संख्याको ५ प्रतिशत भन्दा कम छ भन्ने आँकडालाई समर्थन गर्ने विवरण प्राप्त गर्न बाँकी रहेको हुँदा ट्वीटरसँगको सम्झौता अस्थायी रुपमा स्थगित ।

ट्वीटरमा नक्कली तथा स्पाम अकाउन्टको संख्या कुल अकाउन्टको ५ प्रतिशत भन्दा कम रहेको भन्ने अनुमानलाई समर्थन गर्ने विवरण आफुले ट्वीटरबाट पर्खिरहेको मस्कले बताएका छन् ।

यद्यपि ट्वीटर खरीद गर्ने विषयमा आफु अझैपनि प्रतिबद्ध रहेको मस्कको भनाइ छ ।

विश्लेषकहरुले भने नक्कली अकाउन्टको निहुँ निकालेर मस्कले ट्वीटर कम्पनीको भाउ घटाउने प्रयास गरिरहेको र उनी अन्त्यमा ट्वीटर खरीद गर्ने सहमतिबाट पछि हट्नसक्ने आशंका गरेका छन् ।

ट्वीटर कम्पनी खरीद गर्ने सहमति तत्कालका लागि स्थगित गरेको भन्ने एलन मस्कको ट्वीटसँगै ट्वीटर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

यद्यपि मस्कको ट्वीट आउनुभन्दा अगाडि नै ट्वीटरको शेयर मूल्य मस्कले प्रस्ताव गरेको ५४.२० डलर भन्दा कममा कारोबार भैरहेको थियो  ।

बीबीसी

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : १५ बजे