डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति



सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध महादेव मन्दिर परिसरमा भक्तजनको ओइरो लागेको थियो ।

त्यहीँ मन्दिर परिसरभित्र छरिएर १७ जना कलाकार भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यस्त देखिन्थे । बिहान ८ बजे मन्दिर परिसर पुगेको कलाकार दिनभरि नै मन्दिर क्षेत्रमा रहेर यहाँका विभिन्न कलाकृति पेपरमा उतार्न व्यस्त देखिन्थे । राष्ट्रिय ललित कला सङ्घले आज डोलेश्वर मन्दिर परिसरमा आयोजना गरेको चित्रकला कार्यशालामा कलाकार दिनभरिको चित्र कोर्न व्यस्त रहेको यो दृश्य मन्दिर पुग्नेहरूका लागि नौलो थियो ।

बिहान कला यात्रासहित सुरु भएको कार्यशालामा दिनभर कलाकारले कला सिर्जना गरेर अन्तमा सिर्जनाको प्रस्तुति एवं छलफल गरेर सम्पन्न गरिएको राष्ट्रिय ललित कला सङ्घका अध्यक्ष एवं कार्यशालाका संयोजक दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदा क्षेत्रको प्रचार–प्रसार गर्ने, त्यहाँको विकासमा टेवा पु¥याउने र त्यस्ता क्षेत्रको पहिचानको प्रवद्र्धन गर्दै पर्यटनको विकास गर्ने अभियानका साथ सञ्चालन भएको कला कार्यशाला डोलेश्वरमा आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यशालामा कलाकार बनेपाली, एनबी गुरुङ, चन्द्रा श्रेष्ठ, कान्छाकाजी भासिमा, विपना महर्जन, रुविना बाँडे, राजेन्द्र याकामी, गौरी कोजू, रुपा श्रेष्ठ, अर्जुन न्यौपाने, सौगात याकामी, मनरा प्रजापति, रमिला महर्जन, लिओन बादे, ल्यूजिना बादे, लिआ बादे, विज्ञान राईसहितको १७ कलाकारले यहाँको कलालाई पेपरमा उतारेका थिए । अन्तमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, वडा नं ८ का पूर्ववडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापा, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले कलाकारको कलाकृतिले धार्मिक पर्यटनको विकासमा टेवा पुगेको भन्दै कलाकारलाई सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : ४७ बजे