गठवन्धनमाथि ओलीको आरोप – योजना अनुरुप सत्ता गठवन्धनले अर्थमन्त्रीलाई सफाई दियो



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनेको संसदीय छानबिन समिति सत्ता गठवन्धन अनुकूल रहेको र त्यसले पूर्वयोजना अनुसार नै प्रतिवेदन बुझाएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरूले आफू अनुकूल हुने गरी समिति बनाएको आरोप लगाए । ‘जसलाई चाहिएको त्यसलाई अल्पमतमा राखेर गठबन्धनमा बहुमत राख्ने गरी छानबिन समिति बनाएको छ ’ उनले भने, ‘त्यसले गठबन्धनको भनाइ अनुसार निष्कर्ष निकालेको हो ।’

सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उनले सरकारको आक्रोश व्यक्त गरे । २२ असारमा गठन भएको ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको ओलीको भनाइ थियो । ‘बजेट निर्माण गर्दा देश मारा काम भएको छ, ढुकुटी मारा काम र अनैतिक आपराधिक काम भएकै हो’ ओलीले भने, ‘निष्पक्ष छानबिन गर्न सरकारले चाहेन ।’

सरकारले छानबिन समितिमा पनि बहुमत र अल्पमतको खेल खेलेको ओलीले आरोप लगाए । ‘देशका विरुद्ध अपराध भएको छ । ७ जना आफ्नो पक्षका सांसद राखेर हुन्छ वा हुन्न भन्ने त संसदमा पनि भने भइहाल्छ नि त्यहाँ पनि गठबन्धनको बहुमत छदै छ’ आक्रोशित हुँदै ओलीले भने ‘११ जनाको समिति बनाएर ७ जना आफ्नो राखेर हुन्छ हुन्न भन्ने हो रु यो तथ्यमा आधारित रिपोर्ट होइन । नेपाली जनताले अस्वीकार गर्नु पर्छ । ’

अध्यक्ष ओलीले पनि फुटेज मेटाउने र कल डिटेयल हेर्न मिल्दैन भन्ने कुराले समितिकै काम प्रति शंका उब्जिएको बताए । उनले गठबन्धनको सरकार देशको लागि अभिसाप भएको समेत टिप्पणी गरे । ‘यसले राष्ट्रियता कमजोर पारिहरेको छ , लोकतन्त्रलाई कमजोर पार्छ । यो ढाटहरूको कर छलीहरूको गठबन्धन हो ’ उनले भने ‘ हामीले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनु पर्छ । यो देश बचाउनु छ ,जोगाउनु छ । ’

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : १५ बजे