जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ: महासचिव पोखरेल



नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताउनुभएको छ ।

जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप आज काठमाडौँ सो पार्टीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्ध जनता सडकमा आउनुपर्ने बताउनुभयो ।

जनता र राष्ट्रका विरुद्ध षडयन्त्र गर्नेलाई जनताले नछाड्ने उल्लेख गर्दै उहाँले आजको प्रदर्शन आन्दोलनको थालनी भएको जनाउनुभयो । जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवं पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले अब हुने निर्वाचनबाट एमालले जनमत प्राप्त गर्ने भएकाले उत्साहका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिवाटिकामा पुगेर समापनसभामा परिणत भएको थियो । जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गतका चार जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : १४ बजे