तत्कालिन नेकपाका पाँच नेता देशदोही भएको ओलीको आरोप



काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेता जनविरोधी र देशद्रोही भएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम नेकपाको ९ सदस्यीय सचिवालयमा सदस्य थिए । उनीहरुलाई जनविरोधी र देशद्रोही भएको ओलीले बताएका हुन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा फरक कम्युनिस्ट पार्टीमा रहेका नेताहरूमाथि आरोप लगाएका हुन् । सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई भने एकतामा आउन आग्रह गरेका ओलीले गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताएका थिए । ‘गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला’ उनले भने ।

ओलीले आगामी निर्वाचनमा गठबन्धनलाई पराजित गर्नका लागि बाँकी दलहरू एकजुट हुनुपर्ने आह्वान गरेका छन् । यो अपवित्र, देशद्रोही गठबन्धन हो, अलोकतान्त्रिक, भ्रष्ट गठबन्धन हो भन्दै ओलीले गठबन्धन बाहिर रहेका दलहरूलाई एमालेमा समाहित हुन आग्रह गरे । उनले अन्य पार्टीहरूलाई प्रतिक्रियावादीको संज्ञा दिँदै त्यसलाई चिर्नका लागि सबै एकजुट हुनुपर्ने आह्वान गरेका थिए ।


नेकपा मालेका महासचिवसँग सानैदेखिको संगती रहेको बताउँदै ओलीले पार्टी एकतामा आउन आग्रह गरेका थिए । आफूहरू कहीँ पनि देश, जनता, प्रगति, सुशासन, विकासविरुद्ध नहुनु नै एकताको आधार रहेको बताउँदै ओलीले अनावश्यक सानातिना कुरा ननिकाली पार्टी एक हुन आउन भनेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४२ बजे