प्रचण्डले गरे जापानी सत्तारुढ पार्टीका नेतासँग भेटवार्ता



काठमाडौं– जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच मंगलबार भेटवार्ता भएको छ ।


अध्यक्ष प्रचण्ड पार्टीको प्रवास संगठनको निम्तोमा जापान गएका हुन् । उनले अमेरिकाले द्धितिय विश्वयुद्धमा वम खसालेर ध्वस्त पारेको हिरोसिमाको भ्रमण गर्दै वम खसाउनेविरुद्ध जनतामा कस्तो आक्रोस आएको होला भनेर प्रश्नसमेत गरेका थिए ।
पार्टीको कार्यक्रममा गएका भएपनि उनले जापानको सत्तारुढ पार्टीका नेतासँग भेट मिलाउन काठमाडौंस्थित जापानी राजदूतलाई आग्रह गरेका थिए । त्यसै वमोजिम यो भेट भएको हो ।

भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहनुभएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

वार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५० बजे