चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशन

सी थप शक्तिशाली, माओ र देङपछिको हैसियतमा




चिनियाँ कम्युनिष्ट पार्टीको शनिवार सकिएको २० औं राष्ट्रिय महाधिवेशनले राष्ट्रपति सी जिनपिङलाई तेश्रो कार्यकालका लागि पार्टी महासचिव चयन गरेसँगै उनी थप शक्तिशाली भएका छन् ।

उनी सन २०१२ मा पहिलोपटक पार्टी महासचिव बनेका थिए भने त्यसको एक बर्षपछि सन २०१३ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । पार्टीको महाधिवेशनको यो निर्णय अप्रत्यासित भने होइन किनकी यसअघि नै पार्टीको विधान संसोधन गरेर तेश्रोपटक सम्म महासचिव निर्वाचित हुनसक्ने व्यवस्था राखिएको थियो ।

त्यस्तै, चीनको संविधान नै संसोधन गरी एउटै व्यक्ति तेश्रोपटक सम्म पनि चीनको सर्वोच्च पद राष्ट्रपति हुन सक्ने व्यवस्था गरिएको थियो । यी सवै व्यवस्था सीलाई ध्यानमा राखेर गरिएको थियो । त्यसो त पार्टीभित्र उनलाई चूनौती दिन सक्ने अर्को नेता सार्वजनिक भएनन् । फेरी सीको नेतृत्वमा चीनले घरेलु विकासमात्र नभएर विश्वशक्तिको नेतृत्व लिने हैसियत पनि निर्माण भएको सन्दर्भमा उनी पार्टी र देशको महत्वपूर्ण पद तेश्रोपटक सम्हाल्दैछन् ।

अव राष्ट्रपति सी चिनियाँ जनगणतन्त्र स्थापनापछिका चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ र चिनियाँ आर्थिक क्रान्तिका नायक देङ स्याओ पिङपछिका तेश्रा शक्तिशाली नेताका रुपमा स्थापित भएका छन् । चेयरम्यान माओले राजनीतिक क्रान्तिको नेतृत्व दिएर चीनलाई नयाँ व्यवस्थातर्फ प्रवेश गराएका थिए भने देङले खुला र उदार आर्थिक नीतिमार्फत् चीनलाई आर्थिक विकासतर्फको यात्राको नेतृथ्व लिएका थिए ।

अहिले राष्ट्रपति सीले चीनलाई गरिवीबाट मुक्त गर्दै विश्वको दोश्रो ठूलो आर्थिक र सैन्यशक्तिका रुपमा स्थापित गरेका छन् । सीकै नेतृत्वले सन् २०३५ सम्ममा चीनलाई विकसित समाजवादी राष्ट्र बनाउने लक्ष्य लिएको छ । चिनियाँ संविधानमै सी बिचाराधारालाई चीनको निर्देशक सिद्धान्तका रुपमा स्वीकार गरिएको छ ।

पार्टीको यो महाधिवेशनले सीको नेतृत्वलाई मुल नेतृत्व मान्दै अघि बढ्ने र सी बिचाराधारालाई पार्टीको मुल सिद्धान्त मानी विकास र समुन्नतीका यात्रा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनले उनीपछिको वरियतामा रहेका प्रधानमन्त्री ली खछ्याङ, सल्लाहकार सभाका अध्यक्ष वाङ याङ, ली चान्सु र हान झेनलाई सक्रिय राजनीतिबाट बिदा दिएको छ । उनीहरुले अवकाश पाएका छन् । पार्टीको सर्वोच्च निकाय स्थायी समितिमा रहेका सात जना मध्ये चारजनाले अवकाश पाउँदा राष्ट्रपति सीसहित वाङ छनिङ र झाओ लेजीमात्रै केन्द्रीय कमिटीमा परेका छन् । तीनजनै आज स्थायी समितिमा चुनिनेछन् ।

यसै गरी महाधिवेशनले करिब २०५ पूर्ण र १७७ वैकल्पिक सदस्य रहेको केन्द्रीय कमिटीको घोषणा गर्यो । आज स्थायी समिति र पोलिटब्यूरोको चयन हुँदैछ । पार्टीमा पोलिट्ब्युरोभन्दा माथि स्थायी समिति हुने प्रावधान रहेको छ । आइतबार नयाँ केन्द्रीय समितिको पूर्ण बैठकले नयाँ पोलिट्ब्युरो र स्थायी समितिको टुंगो लगाएपछिसीले स्थायी समितिका सदस्यहरूसहित पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ५७ बजे