नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै


रासस

२४ कार्तिक २०७९, बिहिबार  

0
Shares

नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ । नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा गत वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।

उक्त प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्वीरहरु आगामी मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेब साइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार राखिएको छ । त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरुप रु १० हजारका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ४७ बजे