सत्तारुढ दलको निर्णय: गठवन्धनलाई मतदाताले विश्वास गरेकाले निरन्तरता



काठमाडौं– सत्तारुढ दलहरुले आम मतदाताले गठवन्धनलाई मायाँ र विश्वास गरेको ठहर गर्दै त्यसलाई कायम राख्दै अघि बढ्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको पाँच दलका नेताहरुको बैठकले निर्वाचन नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको निश्कर्ष निकालेका हुन् ।
“गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं । आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दर्छौ’ विज्ञप्तीमा भनिएको छ ।
केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना भएको भन्दै आगामी दिनमा गम्भीर समीक्षा गर्दै अघि बढ्ने सहमति पनि गरेका छन् । “मुलुकसामु विद्यमान चुनौतीको सामना गर्नुपर्ने आवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ’ उनीहरुले भनेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : १२ बजे