सिके राउत राजनीतिक संवादमा, बुधबार ओली, उपेन्द्र र महन्थसँग भेटवार्ता



काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरमा पराजित गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

उनले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका हुन् । यसअघि राउतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिसकेका छन् ।

उनले राजनीतिक दलका नेतासँग मात्र संवाद गरेका छैनन्, राष्ट्रपति बिद्यादेवी भण्डारीसँग समेत मंगलवार भेटवार्ता गरेका छन् । श्रोतका अनुसार, राजनीतिक भेटवार्तामा सर्वसाधरणको जीवनमा परिवर्तन ल्याउने एजेण्डामा सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताउने गरेका छन् । कांग्रेस नेतृत्वको गठवन्धनलाई सरकार बनाउनका लागि आवश्यक संख्या नपुगेपछि प्रधानमन्त्री देउवा र कांग्रेसका नेताहरुले सरकार आउन आब्हान गरेका छन् । त्यसमा राउत सकारात्मक रहेको बताइएको छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार, सबै भेटवार्तामा डा. राउतलाई नेताहरुले बधाई दिंदै पढेलेखेका व्यक्तिहरु संसदमा पुग्नु सकारात्मक रहेको भन्दै विज्ञताको उपयोग गरेर देश विकासमा लाग्न आग्रह गरेका छन् । राउतले आफू विकासका मुद्दामा, किसानका सरोकार संवोधन गर्ने सवालमा सवैसँग सहकार्य गर्न तयार रहेको तर अव ‘एक्सन’ मै उत्रनु पर्ने बताएका छन् ।
डा. राउत कम्युटर मिसाइल इन्जिनियर हुन् । उनले अमेरिकी प्रतिरक्षा प्रणालीमा बसेर काम समेत गरेका हुन् । अलगाव मधेशको मुद्दा उठाएर राजनीतिमा होमिएका उनी केपी ओली प्रधानमन्त्री भएका बेला संविधानलाई मानेर अलगाववादी एजेण्डा त्याँगेर मुलधारको शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
निर्वाचनमा भएको पहिलो प्रतिस्पर्धामै मधेशको मुल शक्तिका रुपमा स्थापित राउतले निर्वाचित भएपछि सबै दलका शीर्ष नेताहरुसँग परामर्शको राजनीतिक संस्कारको आरम्भसमेत गरेका छन् । भेटवार्तामा सरकार गठनका बिषयमा समेत छलफल भएको श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ५८ बजे