जीप दुर्घटना : एकै वडाका सातसहित ११ को मृत्यु


रासस

२६ मंसिर २०७९, सोमबार  

114
Shares

हेमन्त केसी, जाजरकोट- यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो ।    
    
मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।    
    
त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।    
    
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।    
    
जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिनुभयो ।–––  

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ०६ बजे