ओली र देउवासहितका सबै नेताले रेशम निर्दोष छन् भने, तर न्याय दिएनन् : अध्यक्ष चौधरी


रासस

२८ मंसिर २०७९, बुधबार  

209
Shares

दुर्गा देवकोटा (टीकापुर) – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सवै सरकार र नेताले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृति रहेको बताएपनि न्याय पनि नपाएको गुनासो गरेकी छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले प्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाले पनि न्याय दिने आश्वासन दिएको तर न्याय नदिएको बताइन । ‘‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपीहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवं मौखिक प्रतिबद्धता गरेपनि कार्यान्वयन भने गरेनन ’’ उनले भनिन् ।


अध्यक्ष चौधरीले उहाँहरु निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकीर गरिन् । यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएको स्मरण गरिन् । उनले भनिन् ‘प्रधानमन्त्री केपी ओलीका पालामा सरकारसँग लिखित सम्झौता भएको र त्यो सार्वजनिक भएको हो । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।’’

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिका पठाएपछि यसको पक्ष र विपक्षमा वहस भइरहेका छन् । ओलीको सरकारका पालामा २०७७ फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा २०७८ जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान संघर्ष समितिका प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरुलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो ।

आफूहरुले निर्वाचन अघि पनि यस क्षेत्रका सबै दलका नेताहरुसहित प्रधानमन्त्रीलाई भेटेर टीकापुर घटना राजनीतिक घटना भएकाले निर्दोषलाई न्याय दिन आग्रह गरेको अध्यक्ष चौधरीले बताइन् । जनताले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उनको भनाई छ । आफ्नो निर्वाचन प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दोष रहेको र यसका लागि आवश्यक परे आफूहरुले आन्दोलन पनि सुरु गर्ने बताएका उनले सुनाइन् ।


उहाँले अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशमजीलाई न्याय गरेको प्रसंग झिकिन् । निर्वाचनका क्रममा सबै नागरिक रेशमलाल चौधरीसहितका बन्दी जीवन बिताइरहेकाहरु निर्दोष हुन् भनेर आवाज उठाएको र मत माग्दै जाँदा सबैले रेशमको रिहाइको अपिल गरेको उनले सुनाइन् । उनी भनिछन् ‘‘यहाँका नागरिकले रेशमजीलाई मत दिएर जिताएकै हुन् । नागरिकले रेशम चौधरीलाई सांसद विजयी गराउनुको अर्थ उहाँ निर्दोष हो रिहाइ गर्नुपर्छ भन्ने होइन र ? तर पनि सरकारले गरेको छैन ।’’
अघिल्लोपटक निर्वाचित भएपछि कैलालीमा आत्मसर्मपण गरेका चौधरी हाल जेल जीवन बिताइरहेका छन् । यसपटक भने रेशमकै धर्मपत्नी रञ्जिता यसै क्षेत्रबाट भारी मतान्तरले विजयी भइन् ।

गत सातामात्रै नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा पत्रकार सम्मेलन गरी टीकापुर घटनाको मुद्दा सरकारले फिर्ता लिनुपर्ने प्रमुख माग राखेको छ । नागरिक उन्मुक्तिले कैलालीका एक, दुई र तीनगरी तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १ : ३८ बजे