प्रचण्ड भन्छन्– म चाडै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु




कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको आज समापन समारोहमा उहाँले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको उल्लेख गर्दैै नेतृत्व गर्ने अवसर पाउँदा अविस्मरणीय र आउँदा पिँढीले देख्ने, बुझ्ने र सिक्नेगरी विकासका परियोजना अघि बढाउने बताए ।अध्यक्ष दाहालको जन्मस्थल र प्रारम्भिक शिक्षा हासिल गरेको सो विद्यालयको कार्यक्रममा उनले भने, “अब मसँग धेरै वर्ष समय छैन । यहाँहरूको आशीर्वाद, माया र शुभकामनाले काम ग¥र्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।”

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताए । उनले प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतारचढाव बुझ्न नपाईं व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको बताए ।

राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेश, पहाड र हिमाललाई एकताबद्ध गरी सिङ्गो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि दोस्रो कार्यकालमा आफू सफल भएको अध्यक्ष दाहालले स्मरण गरे । उनले आफ्नो बाँकी जीवन सुशासन र विकासका लागि बिताउने बताउँदै यसपटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलका नेताहरुलाई केही चुनौती र अवसर दिएको उल्लेख गरे । सबै दलले समीक्षा गरी आर्थिक विकास र समृद्धि गर्ने अभियानमा लाग्नुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भने, “हामीले गम्भीर समीक्षासहित आउँदो दिनमा सुशासनको दृष्टिकोणले पनि विकास र समृद्धिको दृष्टिकोणले पनि नयाँ अभियान सुरु गर्न सकेनौँ भने आउने दिनमा देशमा निकै अप्ठ्यारो हुन सक्छ ।” निर्वाचनमा केही नयाँ दल जन्मेको हुनाले यसलाई सकारात्मकरुपमा नै लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : २१ बजे