ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट सपथ लिने, भोलि सांसदहरुलाई सपथ गराउने



काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । राप्रपाबाट समानुपातिकतर्फका सांसद राणाले बुधबार दिउँसो शितल निवासमा शपथ ग्रहण गर्दैछन् ।

नागरिकताको प्रमाणपत्र अनुसार राणाकोे जन्म मिति विं.सं. १९९८ मंसिर २४ गते छ । यही आधारमा उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेठा हुन् ।

राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ । प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त रहेको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : २५ बजे