पाँचदलीय गठवन्धन भंग भए एमालेले निकास दिन्छ — महासचिव पोखरेल




सुर्खेत— एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठवन्धन भंग भएमा एमालेले निकास दिने बताएका छन् । प्रचण्ड र माधव नेपाल कांग्रेसका सहयोगी भएसम्म वाम गठवन्धनको सरकार नबन्ने समेत उनले बताएका छन् । उनले प्रचण्ड र माधवलाई बिभिषणको संज्ञासमेत दिएका छन् ।


सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले वाम सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएका प्रचण्ड–माधवले आफूलाई नीतिका आधारमा नचलाएसम्म गठबन्धन सरकारको विकल्प दिन नसकिने बताएका हुन् ।
‘यो गठबन्धन रहेसम्म एमालेले चाहेर पनि सरकार बन्दैन । यो गठबन्धन मुलुकको लागि हानिकारक छ,जुन दिन यो भंग हुन्छ त्यस दिन एमालेले निकास दिनेछ’ उनले भने ।

महासचिव पोखरेलले सरकार गठनका सन्दर्भमा तीन विकल्पको चर्चा गर्दै देशलाई स्थिरता दिनका लागि ठूला पार्टी मिल्ने विकल्प उपयुक्त भएपनि कांग्रेसले सत्ता बाहेक राष्ट्रिय हित नसोचेसम्म त्यो सम्भावना नरहेको बताए ।

पोखरेलले वामपन्थी एक ठाउँमा उभिने अर्को विकल्प भएपनि प्रचण्ड माधव कांग्रेसको कार्यकर्ता भएसम्म त्यो सम्भावना पनि नरहेकाले बताए । ‘नामकै सही वामपन्थीलाई एक ठाउँमा उभ्याउने विकल्प छ । तर कांग्रेसलाई बलियो बनाउने अभियानको नेता प्रचण्ड माधव नै हुन् । यदि नीतिको आधारमा मुुलुकको राजनीति चल्थ्यो भने यो सम्भव थियो,नीतिका आधारमा प्रचण्ड माधव चलेका भए नेकपा फुट्ने नै थिएन । त्यसैले कांग्रेसलाई नेता मानेसम्म उनीहरु विभिषण नै हुन्’ उनले भने ।
महासचिव पोखरेले पहिलो विकल्पका रुपमा गठवन्धनकै सरकार बन्ने बढी सम्भावना रहेको बताए ।

सामाजिक सञ्जालमा केपी ओली र प्रचण्डको फोटो शेयर लाइक गर्नेहरुले वाम एकता चाहे पनि अहिले त्यो परिस्थिति नबनेको उनले बताए । राष्ट्रिय राजनीतिले एमालेको नेतृत्वदायी भूमिका खोज्न समय भने आउने उनको दावी छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : १९ बजे