सरकार गठनका लागि ओली निवास बालकोटमा चार दलको संयुक्त बैठक




काठमाडौं – सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरुभएको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसिमा आज पाँच बजेसम्म छ ।

एमाले अध्यक्ष ओली निवासमा भइरहेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरु सहभागि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले केही बेरअघि मात्र ओलीलाई भेटिसकेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनसँगको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । वालुवाटारबाट बाहिरिएका प्रचण्ड खुमलटारमा खाना खाएपछि ओली भेट्न बालकोट पुगेका हुन् ।
एमाले र माओवादीमा रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ । राप्रपाले पनि समर्थन गर्दा यो संख्या बढ्छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ५३ बजे