तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन, पृथ्वी जयन्ती मनाउन छलफल


रासस

१८ पुस २०७९, सोमबार  

57
Shares

नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले पृथ्वी जयन्तीका अवसरमा संयुक्तरूपमा सांस्कृतिक झाँकीसहित कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाल प्रज्ञामा मङ्सिर मसान्तमा सबै पदाधिकारीको पदावधि सकिएको थियो ।

प्रज्ञाका कुलपति र सदस्य सचिवको अवधि भने गत असोज २१ गते नै सकिएको हो । ललितकला प्रज्ञा र सङ्गीत तथा नाट्य प्रज्ञाका पदाधिकारीको पदावधि भने पुस १६ गते सकिएको थियो । सबै प्रतिष्ठानमा पदाधिकारीको पदावधि सकिएपछि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै प्रतिष्ठान र संस्थानका प्रशासन शाखा प्रमुखलगायत कर्मचारीलाई बोलाएर पृथ्वी जयन्ती मनाउने विषयमा छलफल गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्रशासन शाखा प्रमुख सुमन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष मन्त्रालयकै नेतृत्वमा पृथ्वी जयन्तीको कार्यक्रम गरिने भएको छ । पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएको पुस्तक प्रदर्शनीलाई पदाधिकारीको अनुपस्थितिमा पनि निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको उहाँले सुनाउनुभयो । प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका खेलेको सम्झनामा पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिएको हो ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ४७ बजे