कांग्रेस प्रवक्ताको दावी : यो अवसरवादी गठवन्धनको आयु छोटो छ



काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धन अवसरवादी भएको आरोप लगाउँदै यसको आयु छोटो भएको दावी गरेका छन् ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतले गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेकोले आयु छोटिने सम्भावना रहेको बताएका हुन् । ‘अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ’ महतले भने,‘त्यहाँ पदमात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं ।’

महतले निर्वाचनअघिको कांग्रेस–माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर प्रचण्ड र माधव नेपालले धोका दिएको आरोप लगाए । अहिलेको अवस्थाबाट नेपाली कांग्रेस विचलित नभएको उनी उनले बताए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : २७ बजे