एमालेका देवराज घिमिरे बने प्रतिनिधिसभाका नवौं सभामुख



काठमाडौं– सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनले नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन र रास्वपाका रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका थिए ।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्यो भने विपक्षमा १०० मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरे ।
सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्ने छन् । घिमिरे झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख थिए । २०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ३६ बजे