उप सभामुखका लागि आज मतदान, इन्दिरा र मुक्ताकुमारी प्रतिस्पर्धामा



काठमाडौ– प्रतिनिधि सभा उपसभामुखको लागि आज मतदान हुँदैछ ।
प्रतिनिधि सभाको आजको उपसभामुख चयन गरिनेछ । उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन् । उनीहरुले शुक्रबार मनोनयन दर्ता गराएका हुन् ।
बैठक आज दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सत्तारुढ दलको समर्थन इन्दिरालाई छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।
यसअघि नैसत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ३८ बजे