माधव नेपालले भने– देशका समस्या समाधान गर्न एमालेलगायत सवै दल मिल्नुपर्छ



काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । उनले एमालेलगायत वामपन्थी पार्टीसँग मिलेर जान आफूले पनि आव्हान गरिरहेको समेत बताए ।


जनकपुरमा संवाददाताहरुसँग आइतबार कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन् । एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ती चुनौतीहरु सामना गर्नलाई सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो कुरा हो ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका विषय अनुमानका कुराहरु भएको टिप्पणी गरे । आफूहरुबीच भएको सहमतिबारे कुरा खोल्ने बेला नआएको उनको भनाइ छ । अध्यक्ष नेपालले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आह्वान गरिरहेको भन्दै एजेन्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ४९ बजे